फिदिम । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा डाँगीहाट फुटबल क्लब (डीएफसी) मोरङ बिजयी भएको छ ।
प्रतियोगितामा सहभागी एकमात्रै विदेशी टोली युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलअन्तरले पारजीत गर्दै मोरङ सेमिफाइनलमा प्रवेश गरेको हो । फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा मोरङका लागि अभिषेक लिम्बू र सञ्जय धिमालले दुई÷दुई गोल गरेका थिए भने उमेश राई र अरुण लिम्बूले एक/एक गोल गरे । दार्जिलिङका लागि रोहित थापा, आशिष राई र गणेश लिम्बूले समान एक/एक गोल गरे ।
दुई गोल गरेका मोरङका अभिषेक लिम्बू सोमवारको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) घोषित भए । सेमिफाइनलमा मोरङले मंसिर २० गते आयोजक पाँचथर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको अन्तिम खेलमा भोलि हिमालयन शेर्पा क्लब काठमाडौं र कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङवीच प्रतिस्पर्धा हुने आयोजक संस्था पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने टिमले रु. चार लाख चार हजार ४४४ र दोस्रो हुने टिमले रु. दुई लाख दुई हजार २२२ रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया