पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किराँत गोल्डकपः हिमालयन शेर्पालाई पराजीत गर्दै ताप्लेजुङ सेमिफाइनलमा

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार (आज) भएको खेलमा हिमालयन शेर्पा क्लब काठमाडौंलाई ४–३ गोलअन्तरले पराजीत गर्दै कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा कठिन जीत निकाल्दै ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी स्वदेशीमध्ये कोशी प्रदेश बाहिरको एकमात्रै टोली हिमालयन शेर्पा भने समूह चरणबाट बाहिरिन पुगेको छ ।

आजको खेलमा ताप्लेजुङका मञ्जित याङदेनले खेलको तेश्रो मिनेटमै गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिएका थिए । २१औं मिनेटमा विदेशी खेलाडी ओस्करले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा ल्याए । ४०औं मिनेटमा प्रविन जबेगूले गोल गरेपछि ताप्लेजुङ पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता लिन सफल भयो ।

हिमालयन शेर्पाका लागि वसन्त ओझाले खेलको ५२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई बराबरीमा ल्याउन सफल भए । तर ६२औं मिनेटमा ताप्लेजुङका दिपेश लिम्बूले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । ६९औं मिनेटमा डिबक्स नजिकैबाट भएको थ्रो प्रहारलाई बचाउँन खोज्दा ताप्लेजुङका आशिष लिम्बूले गरेको हेड गोलमा परिणत भइदियो ।

३–३ को बराबरीमा रहेको अवस्थामा ताप्लेजुङका लागि ७७औं मिनेटमा पुनः प्रविन जबेगूले गोल गरे । जबेगूको अन्तिम गोल नै खेलको निर्णायक गोल समेत बन्यो ।

मंगलबारको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू घोषित भए । हिमालयन शेर्पा क्लबका प्रहारहरुको उत्कृष्ट बचाउ गरेका गोलरक्षक लिम्बूले रु. ५ हजार रकम, प्रमाणपत्र र मेडल प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत आज समूह चरणका खेल समाप्त भएका छन् । भोलि हुने पहिलो सेमिफाइनल खेलमा डाँगीहाट फुटवल क्लब (डीएफसी) मोरङ र आयोजक पाँचथर फुटवल क्लबवीच प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।

यस्तै विहीवार विर्तामोड युनाइटेड क्लब झापा र आजको खेलको विजेता कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङवीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले रु. चार लाख चार हजार ४४४ तथा उपविजेताले रु. दुई लाख दुई हजार २२२ रकम सहित ट्रफी हात पार्नेछ । नवस्थापित पाँचथर फुटवल क्लबले प्रतियोगिता आयोजना गरेको हो ।