फिदिम । पाँचथरको फिदिममा आयोजित सुम्हात्लुङ मिनी म्याराथुन (दौड) को छैटौं संस्करणको उपाधि नेपाली सेनाका श्रीकास राईले जीतेका छन् ।
आज विहान आयोजित दौडमा निर्धारित करीब ९ दशमलव ५ किलोमिटर दुरी राईले २७ मिनेट ५६ सेकेण्डमा पार गर्नुभएको हो । अघिल्लो संस्करणका विजेताले २९ मिनेटमा मात्रै दुरी पार गरेकामा यस संस्करणका प्रथम, द्वितीय र तृतीय भएका धावकले सोभन्दा कम समयमै दुरी पार गर्नुभएको छ । प्रतियोगितामा द्वितीय हुनुभएका शसस्त्र प्रहरी बलका निरज भट्टले निर्धारित दुरी २८ मिनेट ०३ सेकेण्ड तथा तृतीय हुनुभएका शसस्त्र प्रहरी बलकै राजेन्द्र तामाङले २८ मिनेट १४ सेकेण्डमा पार गर्नुभयो ।
दौडका विजेताले रु. ३० हजार, द्वितीयले रु. २० हजार र तृतीयले रु. १० हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै दौडमा सान्तवना हुनुभएका पाँचथरको फिदिम नगरपालिका–१० प्रताप थाम्सुहाङ, फिदिम–६ का दिपेश तामाङ, ताप्लेजुङका भीया लिम्बू र रमेश लिम्बू तथा इलामका सञ्जय राई समेत पुरस्कृत हुनुभएको छ ।
दौडमा महिलातर्फ भोजपुरका जुलिन राई प्रथम हुनुभयो । राईले ३८ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्नुभएको थियो । यस्तै भोजपुरकै जुही राई द्वितीय हुनुभयो । उहाँले निर्धारित दुरी ३८ मिनेट ४१ सेकेण्डमा पार गर्नुभयो भने तृतीय हुनुभएका भोजपुरकै विनिता राईले ३९ मिनेट ११ सेकेण्ड र सान्तवना हुनुभएका भोजपुरकै कल्पना राईले ४२ मिनेट ०७ सेकेण्डमा दुरी पार गर्नुभयो ।
महिला धावकहरुका लागि भने छुट्टै पुरस्कार प्रवन्ध गरिएको थिएन । आयोजकले अर्को वर्षबाट महिला धावकका लागि छुट्टै पुरस्कारको प्रवन्ध गर्ने जनाएका छन् ।
प्रतियोगितामा ४० जना धावकको सहभागिता थियो । प्रतियोगिताका विजेताहरुलाई फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, शसस्त्र प्रहरी बल हिमशिखर गुल्म फिदिमका प्रमुख हरिप्रसाद शर्मा, फिदिम–१ का वडाध्यक्ष गजाधर भट्टराई, फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावती लगायतले पुरस्कार वितरण गर्नुभयो ।
फिदिम नगरपालिका–४ स्थित ऐतिहासिक एवं धार्मिक स्थल सुम्जिरी सुम्हात्लुङ मन्दिरमा हिँजोबाट सुरु भएको चासोक मेलाका अवसरमा सुम्हात्लुङ मिनी म्याराथुन आयोजना गरिएको हो । सो दौड सुम्हात्लुङ गढीबाट फिदिमको क्याम्पसमोड, जोरसाल, पल्लोटार, शनिवारे मन्दिर, हुलाकलाइन हुँदै पुनः सुम्हात्लुङ गढी पुगेर टुङ्गिने रुट तय गरिएको थियो ।
प्रतिक्रिया