फिदिम । पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता आजबाट सुरु भएको छ ।
फिदिमस्थित जिल्ला समन्वय समितिको कवर्डहलमा आयोजित प्रतियोगिताको आज जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेले उद्घाटन गर्नुभयो । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा आयोजित प्रतियोगितामा पाँच विधामा खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिताको पहिलो दिन आज पुरुष एकल र महिला एकलका खेलहरु सञ्चालन भएका छन् ।
प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका छन् । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, वुमेन डबल, वुमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताका हरेक विधाका बिजेताले रु. २० हजार, द्वितीय हुनेले रु. १० हजार र तृतीय हुनेले रु. पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगितातर्फ ४५ वर्षमाथि र दुई जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरी दुई विधाका खेलहरु हुने आयोजकले जनाएको छ । खुल्ला भेट्रान्स प्रतियोगितातर्फका बिजेताले रु. ३० हजार र उपबिजेताले रु. १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
आगामी फागुन २४ गतेदेखि हेटौंडामा हुने अन्तर प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघ पाँचथरले गरेको छ । प्रतियोगिता सम्पन्न गर्न रु. १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।
प्रतिक्रिया