फिदिम । फिदिम नगरपालिकाले नगर भित्रका सबै माध्यमिक विद्यालयहरुमा सीसी क्यामेराबाट निगरानी गर्ने ब्यवस्था मिलाएको छ ।
नगरपालिकाका १४ वटै वडामा रहेका २० वटा माध्यमिक विद्यालयहरुलाई सीसी क्यामेराबाट निगरानी गर्ने ब्यवस्था मिलाइएको हो । प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको छ । माध्यमिक विद्यालयहरुमा जडित क्यामेराको निगरानी भने फिदिम नगरपालिकाबाट मात्रै गर्न मिल्ने ब्यवस्था मिलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
फिदिम नगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटबाट रु. ८ लाख ८५ हजार बजेटको ब्यवस्था गरी सीसी क्यामेरा जडान गरिएको हो । “सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा पठनपाठनलाई ब्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकाबाट नियमित निगरानीका लागि सीसी क्यामेराको ब्यवस्था गरेका हौ”, नगर प्रमुख काफ्लेले भन्नुभयो, “माविहरुमा सीसी क्यामेरा थप्ने तथा आधारभूत विद्यालयहरुमा समेत सीसी क्यामेरा जडान गर्ने योजना बनाएका छौं ।”
सीसी क्यामेराबाट विद्यालयहरुको निगरानी नगरपालिकाको शिक्षा शाखाबाट हुनेछ । यस्तै नगर प्रमुख काफ्लेको मोवाइल (ट्याव)मा समेत ८० वटै सीसी क्यामेराले कैद गरेको भिडिओ हेर्न मिल्ने ब्यवस्था मिलाइएको छ । मङ्गलबार नगरपालिकाले सामुदायिक माविहरुको सीसी क्यामेरा उद्घाटन कार्यक्रमपछि नगर प्रमुख काफ्ले कार्यकक्षबाट विद्यालयहरुको अवस्था निगरानी गरिरहनु भएको थियो ।
नगर प्रमुखको कार्यकक्षमा आइपुग्नु भएका फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङले आफ्नो वडामा रहेको खलङ्गाटार माध्यमिक विद्यालयको अवस्था हेर्न नगर प्रमुख कामुख काफ्लेलाई आग्रह गर्नुभयो ।
फिदिम–१० को खलङ्गाटार माध्यमिक विद्यालयमा नियमित पठनपाठन भइरहेको र विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामै रहेको पाएपछि वडाध्यक्ष थाम्सुहाङले भन्नुभयो, “नगरपालिकाबाटै निगरानी हुने भएपछि विद्यालयहरुमो देखिने वेथिति कम हुने आशा जागेको छ ।”
यस्तै नगरपालिकाबाटै निगरानी हुने भएपछि जनप्रतिनिधिलाई अटेरी गर्ने शिक्षकहरु समेत नियमित अध्यापनमा लाग्ने फिदिम–९ लुम्फाबुङका वडाध्यक्ष गंगाबहादुर राईको अपेक्षा छ ।
सीसी क्यामेरा उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङले शैक्षिक क्रियाकलाप र शिक्षकहरुको नियमित निगरानीले विद्यालयमा हुने क्रियाकलाप र शिक्षकहरुको आचरण सुधारमा मद्दत मिल्ने वताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले विद्यालयको सुरक्षामा समेत सीसी क्यामेराले मद्दत मिल्ने वताउनुभयो । उहाँले सीसी क्यामेरा जडानलाई सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्ने प्रयासको सुरुआतका रुपमा लिनुपर्ने वताउनुभयो ।
जिल्लाको एक चौथाइबढी जनसङ्ख्याको बसोबास रहेको फिदिम नगरपालिकामा २० माध्यमिकसहित कूल ७९ वटा सामुदायिक विदालयहरु रहेका छन् । सबै सामुदायिक विद्यालयहरुमा विद्युत, इन्टरनेट र इ–हाजिरीको ब्यवस्था गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया