मदन थापा
यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा आयोजित तेश्रो कुम्मायक–कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि आयोजक सयपत्री क्लबले उचालेको छ । आइतवार पृथ्वी माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा संगम क्लव सुनसरीलाई ३–२ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो ।
खेलको शुरुआती समयमा सुनसरीका बिमल घिसिङले पेनेल्टी सुटआउटबाट गोल गरेका थिए । त्यस लगत्तै आयोजकका तर्फबाट विशाल राईले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । आयोजक टिमका आशिष चापागाई र बिवेक पौड्यालले थप गोल गर्दै अग्रता फराकिलो पारेका थिए । सुनसरीका तर्फबाट सुरेन बुढा मगरले थप एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
प्रतियोगिताको विजेता बनेको सयपत्री क्लव यासोकले रु. ३ लाख ३३ हजार ३३३ सहित ट्रफि, मेलड र प्रमाणपत्र र उपबिजेता संगम क्लव सुनसरीले रु. १ लाख ६६ हजार ६६६ सहित ट्रफि, मेलड र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलेको म्यान अफ दी म्याच सुनसरीका बिजय घलान घोषित हुँदै पाँच हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अथिति माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी सुनसरीका मनोज प्रधान घोषित हुँदै रु. १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपरमा आयोजकका किशोर गिरी, उत्कृष्ट मिडफिल्डर आयोजककै खमिर गिल्सन कन्दङ्वा, उत्कृष्ट फरवार्डमा आयोजककै विशाल राई, राइजिङ प्लेयरमा आयोजककै चोलुङ चेम्जोङ, सर्वाधिक गोलकर्तामा आयोजककै आशिष चापागाई र उत्कृष्ट प्रशिक्षकमा आयोजककै शीवकुमार लावती घोषित भए ।
प्रतिक्रिया