काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो । यो अवधिमा कुनै पनि उम्मेदवारको पक्षमा प्रचारप्रसार वा लविङ गर्न पाइँदैन ।
तर, मौन अवधि बिर्सिँदै केही कलाकारले काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको पक्षमा आज पनि सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । सेलिब्रेटीहरुले निर्वाचन आचारसंहिता र मौन अवधिबारे सामान्य ज्ञान समेत नराखेको पाइएको हो ।
सुरुदेखि नै बालेनको पक्षमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्काले केही बेरअघि ‘भोट फर बालेन’ ह्यासट्यागसहित नयाँ पोष्ट गरेकी छन् । बालेन शाहको एउटा पुरानो पोष्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘बुलेटभन्दा ब्यालेट शक्तिशाली हुन्छ । हामी इतिहासलाई उपेक्षा नगरौं र भविष्यलाई परित्याग नगरौं ।’
एक लाख ३७ हजारभन्दा बढी फलोअर्स भएको आफ्नो पर्सनल अकाउन्टमा स्वस्तिमाले यो स्टाटस लेखेकी हुन् । उनको १२ लाखभन्दा बढी फलोअर्स भएको भेरिफाइड फेसबुक पेजमा पनि यो पोष्ट गरिएको छ । स्वस्तिमाले कलाकारलाई मौन अवधि नलाग्ने सुनेर बालेनको पक्षमा भोट मागेको बताइन् ।
श्रीमान निश्चल बस्नेतले शेयर गर्न मिल्ने बताएपछि शेयर गरेको पनि उनले बताइन् । मौन अवधि शुरु भइसकेपछि पनि अरु कलाकारले पनि जानेर वा नजानेर यस्ता पोष्ट गरेका छन् ।
कलाकार निर्मल शर्माले मौन अवधि शुरु भएको ७ घण्टा पछाडि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका र्यापर बालेन शाहलाई भोट मागेका छन्। उनले ४ घण्टा अघि बालेन शर्माको पोस्ट सामाजिक सञ्जालमा शेयर गर्दै उनको पक्षमा भोट मागेका हुन् ।
यस्तै अभिनेत्री वर्षा राउतले पनि मौन अवघि तोड्दै बालेन शाहको पक्षमा भोट मागेकी छन् । अभिनेत्री राउतले ३ घण्टाअघि बालेन शाहको फेसबुकमा भोट माग्दै गरेको पोस्ट शेयर गर्दै भोट फर चेन्ज भनेर लेखेकी छन् ।
मोडल गरिमा शर्माले रुटिन अफ नेपाल बन्दले बालेन शाहको बारेमा राखेको पोस्ट शेयर गर्दै बालेनको पक्षमा उभिएकी छन् । उनले पनि मौन अवधि तोड्दै ४ घण्टा अघि बालेन शाहलाई मेन्सन गर्दै शुभकामना दिएकी छन् ।
निर्वाचन आचारसंहिता सबैले मान्नुपर्ने भएपनि चलेका कलाकारहरुले सामान्य जानकारी समेत नराख्दा परिवर्तनका लागि भन्दै मत माग्नेहरुमाथि नै प्रश्न उठेको छ ।
प्रतिक्रिया