Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
ताप्लेजुङको खेवाङमा पहिरोले ५३ परिवार विस्थापित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

ताप्लेजुङको खेवाङमा पहिरोले ५३ परिवार विस्थापित

चिन्तन खबर

काठमाडौँ । दुई जनाको मृत्यु भइसकेको सिरिजंगा गाउँपालिका–७ खेवाङमा पहिरोका कारण ५३ परिवार विस्थापित भएका छन् ।

वडाध्यक्ष बुद्ध दाहालका अनुसार पानी पर्ने क्रम नरोकिएकाले विस्थापित हुने क्रम अझै वड्ने देखिएको छ । एकदेखि अर्को बस्तीमा जाने उपाय नभएकाले समस्या जटिल भएको उनले टेलिफोनमा जानकारी दिए ।

दाहालका अनुसार तेम्फु र तुमाङखे क्षेत्रका मानिस सबैभन्दा बढी विस्थापित भएका छन् । हिजो शुक्रबार तेम्फुका ३० र आज तुमाङखेका २३ घर विस्थापित भएको दाहालले बताए । एकदेखि अर्को बस्ती जाने उपाय नभएकाले उनीहरु आफन्त, छरछिमेक भेला भएर डाँडामा बसेका छन् । शुक्रबार विस्थापित भएकामध्ये कतिपय कञ्चनजंघा आधारभूत विद्यालय तीन ढाँडेमा गएर बसेका छन् ।

सुर्के, सिवोक, गुरासे, तुम्याङको शिरानबाट झरेको पहिरोले जोखिम बढाएको दाहालले बताए । दुई वर्षअघि बनाएको स्वास्थ्य चौकी भवन पनि पहिरोले तान्न थालेको छ । बिहीबारको बाढीले सिवाखोला विद्युत् गृहको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध छ ।

विद्युत् नहुँदा यहाँको टेलिफोन टावर मज्जाले घाम लाग्दा मात्रै चल्छ । ११ बजेमात्रै आफूले पनि सम्पर्क गर्न सकेको दाहालले बताए । गाउँपालिकाबाट आफू र विस्थापित आफ्नो वडाका बासिन्दाले सहयोग पाउन नसकेको गुनासो वडाको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेल सशस्त्र र नेपाल प्रहरीको टोली पठाए पनि पहिरोका कारण पुग्न नसकेको बताउँछन् । ‘मलाई पनि वडाध्यक्षले विस्थापितको संख्या बढेको बताउनुभयो,’ पोख्रेलले भने, ‘त्यहाँको सूचना पाउन कठिन भएर प्रहरीको टोली पठाएपनि पुग्नै सकेको छैन ।’

रेडक्रससँग समन्वय गरेर राहत सामग्री पठाउन पहल गर्ने र गृह मन्त्रालयमा पनि जानकारी गराउने पोख्रेलले बताए । सागादिनको गणेश मावि र कञ्चनजंघा आधारभूत विद्यालय तुलनात्मक रुपमा सुरक्षित रहेकाले विस्थापितलाई त्यही ल्याएर राख्न अनुरोध गरेको पोख्रेलले बताए ।

खेवाङ घर भएका कांग्रेस जिल्ला कार्य समितिका सभापति गजेन्द्रप्रसाद तुम्याहाङ विस्थापितको संख्या अधिक रहेको बताउँछन् । ‘कसैको घरमाथि पहिरो छ, कसैको मुनिबाट तानेको छ,’ तुम्याहाङले भने, ‘म पनि हिजैदेखि सम्पर्कमा छु तर पानी परिरहेकाले उद्धारमा कठिनाई भएको छ ।’

प्रतिनिधिसभाका संसद योगेशकुमार भट्टराई त्यहाँको अवस्थाका विषयमा आफूले विभागीय मन्त्रीको ध्यानाकर्षण गराएको र उनिहरुको उद्धार र राहतका लागि सक्रियता बढाउनु पर्ने बताउँछन् । भट्टराईले शुक्रबारको बैठकमा पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

पहिरोले पुरेर बिहीबार एकाघरका सासु बुहारीको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । घाइतेको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बिहीबार बिहानको पहिरोले फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा एक घर बगाएको र वाड नं १ सावादिनमा पशुचौपाया बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (इकान्तिपुरबाट)