काठमाडौं । हिन्दु धर्मालम्बीहरुको पर्व नागपञ्चमी आज देशैभरी मनाइँदैछ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व सांस्कृतिक तथा धार्मिक परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।
घरको मुलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुस्ख नदिनेका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा अर्थात देउता मानिन्छ । नाग देउता रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धार्मिक मान्यता रहेको छ ।
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।
घरको मुलढोकामा नागको तस्विर टाँस्ने लगायत काठमाडौंको नक्सालस्थित नागपोखरीसहित ताल तलाऊमा गएर हिन्दुधर्मालम्बीहरुले नागको पुजाअर्चना गर्दै आएका छन ।
प्रतिक्रिया