पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेशको नाममा दलभित्रै रत्यौली, साना दलका ठूला कुरा

चिन्तन खबर

विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाले प्रदेशको नामाकरण नगरी विघटन हुने सम्भावना बढ्दो छ । प्रदेशको नामाकरणका सन्दर्भमा मुख्य दलहरु नेकपा (एमाले) र नेपाली काँग्रेस तथा राप्रपा करीब एक मत देखिन्छन् । सत्ता गठबन्धनका कारण काँग्रेसले एमालेसँग मिलेर नामाकरण गराउन त सक्थ्यो तर, गठबन्धनकै भयले काँग्रेसले त्यो कदम चाल्न सकेको छैन् ।

एमालेले प्रदेशको नाम कोशी तथा काँग्रेसले सप्तकोशी राख्नुपर्ने प्रस्ताव गरेका छन् । तेश्रो दल माओवादी केन्द्र र चौथो दल एकीकृत समाजवादी पहिचानका आधारमा नाम राख्नुपर्ने वताएका छन् । माओवादी केन्द्रले किराँत कोशी नामाकरण गर्नुपर्ने प्रदेश कमिटीबाट निर्णय गरेको यदाकदा सुनिएको थियो । जसपाले लिम्बुवान–किराँत–सेर्पालुङ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले लिम्बुवान–किराँत नामाकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रदेशको नामको अन्यौलका वीच पहिचान पक्षधर शक्तिहरुले विराटनगरमा प्रदर्शन गर्दै आएका छन् । तर नामाकरण यो प्रदेशसभाले टुङ्ग्याउनेमा धेरै आशंका देखिन्छन् ।

यस्तैमा प्रदेशको तेश्रो ठूलो दल माओवादी केन्द्रमा भने रत्यौली देखिन्छ । सो दलका दल नेता एवं प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो प्रदेशको नाम किराँत राख्नुपर्ने वताउँछन् । सार्वजनिक कार्यक्रमदेखि सामाजिक सञ्जालमा आङ्बोले किराँतका पक्षमा वकालत गर्दै आएका छन् ।

सोही दलकी सांसद् सीता थेबेले प्रदेशसभामा बोल्दै प्रदेशको नाम लिम्बुवान किराँत हुनुपर्ने वताइन् । लिम्बुवान किराँत सभ्यता र इतिहास भएकाले त्यसलाई नाम राख्दा सबै पक्ष समेटिने थेबेको भनाई थियो ।

तर माओवादी केन्द्रकै पुराना नेता पूर्णप्रसाद राजवंशी आङ्बो र थेबेका प्रस्तावमा सहमत छैनन् । मंगलबार प्रदेशसभामा बोल्दै राजवंशीले प्रदेशको नाममा कोचिला छुट्नु नहुने वताए ।

उनले इतिहासदेखि नै झापा, मोरङ र सुनसरीमा कोच समुदायको बसोबास रहँदै आएको र कोच समुदायको योगदान पनि रहेको भन्दै प्रदेशको नामाकरण गर्दा कोचलाई भुल्न नहुने वताए । प्रदेशसभाको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य राजवंशीले नामाकरणमा पहिचानको मुद्दा उठिरहेको बेलामा कोचिलाको पनि पहिचान छ भन्ने कुरा नबिर्सिन सुझाव दिए ।

“इतिहासको कालखण्डमा झापा, मोरङ, सुनसरीमा अन्य कुनै जाती समुदायले औंलो ठड्याउँदा पनि औलो चुडिएर जान्थ्यो, कोचहरुको सम्बन्ध महामारी (औलो) सँग जोडिएको छ, कोच त्यो समुदाय हो”, उनले भने, “कोचको आफ्नै पहिचान छ, भाषा छ र संस्कार संस्कृति छ ।” उनले कोचिला राज्य प्राप्त गर्न कोच समुदायको धेरै व्यक्तिहरुले साहदत प्राप्त गरेको र केही अझैपनि बेपत्ता रहेको बताए ।

उनले आफू पनि कोच समुदायकै प्रतिनिधित्व गरेर प्रदेशसभामा निर्वाचित भएको बताए । “तीन लाख हाराहारीको कोच समुदायको आवाज बुलन्द गरेको छु, कोचिला नामाकरण भएन भने चेतावनी स्वरुप विद्रोहको शंखघोष गर्ने भनेर चेतावनी दिएर मलाई पठाएका छन्”, उनले भने, “म त्यहि कुरा सदनमा राखिरहेको छु ।” उनले अरु राजनीतिक दलले पनि प्रदेशको नाम कोचिला प्रदेश राख्नका लागि बोलि दिनुपर्ने बताए ।

“अरु दलले बोल्दा अप्ठेरो मान्छन्, कोच समुदायको अरु दलहरुमा सहयोग, भूमिका छैन ?” उनले भने, “कोचिलाको पहिचान छ, त्यसलाई स्थापित गर्नुपर्छ भन्ने मान्यता किन बोकेको छैन ?, नामाकरणको बिषय चलिराख्दा खेरी कोचिला नाम पनि समेटियोस् ।”

माओवादी केन्द्रकै सांसद उमिता विश्वकर्माले प्रदेश सभालाई प्रदेशको नाम टुंग्याउनु पर्ने जिम्मेवारी आएकोले ऐतिहाँसिकता र पहिचानको आधारमा नामाकरण गर्नुपर्ने धारणा राखिन् । प्रदेश १ मा नामाकरणको बहस चलिरहँदा माओवादी केन्द्रले पहिचानसहितको नामाकरणको पक्षमा रहँदै आएको छ ।

तेश्रो दल भएपनि माओवादीका १५ सांसदका अनेकथरी कुरा छन् । आफ्नै दलभित्र सर्वसहमति नभएको सो दल नामाकरण एमाले र काँग्रेसले गर्न नसकेको दोष थोपर्न भने भ्याइरहेको छ ।

यता मुख्य दल नामाकरण अहिले भए पनि ठिक, नभए पनि ठिक भन्ने मुडमा देखिन्छन् । उनीहरुले आफ्नो जिम्मेवारी क्रमशः भुल्दै गएका छन् । नामाकरणका लागि सहमति जुटाउनु पर्ने मुख्यमन्त्री गैरजिम्मेवार जवाफ दिँदै हिँडिरहेका छन् भने सभामुखको भूमिका कमजोर देखिएको छ ।