काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ । आइतबार देशभर कूल ५५३ जनामा संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८९ एन्टिजेन र २ हजार ८ सय ६२ पीसीआर परीक्षण गरिएको थियो । एन्टिजेन परीक्षणबाट ४३६ जना र पीसीआर परीक्षणबाट ४९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ७१ पुगेको मन्त्रालयको तथ्याङ्क छ । अहिले मुलुकभरीमा सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ५९ रहेको छ ।
पछिल्लो समय राजधानी काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा २ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ ।
सोमबारसम्म ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लामा काठमाडौं र ललितपुर रहेका छन् भने कास्की र मोरङमा २ सयभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै सक्रिय संक्रमित शून्य रहेका जिल्लामा भने मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ७४ जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया