फिदिम । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाँचथर शाखाले ‘फोनिज पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार कवीन्द्र सेर्मालाई प्रदान गरेको छ ।
महासङ्घको २३ औँ स्थापना दिवसको अवसर पारेर फोनिज पाँचथरका संस्थापक अध्यक्ष सेर्मालाई ५० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो । यसै वर्ष स्थापना गरिएको उक्त पुरस्कार हरेक वर्ष प्रदान गरिने फोनिज पाँचथरका अध्यक्ष रामचन्द्र तामाङले जानकारी दिनुभयो । पाँचथर कुम्मायक गाउँपालिका–२ माङ्जाबुङका सेर्मा दुई दशक यता पत्रकारितामा सक्रिय हुनुहन्छ ।
यस्तै फोनिज पाँचथरले हरेक वर्ष प्रदान गर्दै आएको ‘फोनिज नवोदित पत्रकारिता पुरस्कार’ सञ्चारकर्मी सुनिता खजुमलाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशी ५ हजार ५५५ रहेको छ । पुरस्कृत पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले चेक हस्तान्तरण गर्नुभएको थियो ।
प्रतिक्रिया