पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बन्दको सामान्य प्रभाव

चिन्तन खबर

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यका सहित देशैभरी न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन ।

दाङमा पत्रकारसहित चार जना बन्दकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, तुलसीपुरका अनुसार पत्रकार हेमन्तप्रकाश ओलीसहित चारजनालाई पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा पक्राउ पर्नेमा जन पत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वलीसहित ४ जना रहेका छन । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीका अनुसार तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन । चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्याएका छन ।

चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ।

डोटीमा बन्द गराउँदै हिडने नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्ता परेका छन । चन्द नेतृत्वकासहित ४ पार्टीले घोषणा गरे अनुसार दिपायल बजार बन्द गराउँदै हिँडेका दुई कार्यकर्तालाई पक्राउ परेका हुन । डोटी प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा मोहन कठायत र प्रकाश कठायत रहेका छन । डोटीमा बन्दको प्रभाव न्युन देखिएको छ।

बिपी राजमार्गमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरे पछि सवारी साधन चल्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार धुलिखेल नगरपालिका– ९ स्थित बिपी राजमार्गमा राखिएको बम नेपाली सेनाको कालीजंग गण धुलिखेलवाट खटिएको टोलीले डिस्पोज गरेपछि सवारी साधन पूर्वबत चलेका हुन् ।

खतरा लेखिएको प्रेसर कुकर बम राजमार्गमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको कालीजंग गणको बम डिस्पोजल टोलीले झन्डै दुई घन्टा लगाएर उक्त बम डिस्पोज गरेको थियो । बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सरकारसँग भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र थुनाबाट मुक्त गर्नुपर्ने माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहित ४ साना पार्टीले आज देशव्यापी बन्दको घोषणा गरेको छ।