काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन गरेको छ । महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम एक साताभित्र उम्मेदवारको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
महामन्त्री थापाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि प्रदेश सभा क्षेत्रीय कार्यसमितिले सो क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठक राखेर उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छन् ।
कांग्रेसको विधानबमोजिम प्रत्यक्षतर्फ सहमति नभए बहुमतको प्रक्रियाबाट बढीमा तीन जना र समानुपातिकतर्फ बढीमा दुई जनाको नाममा निर्णय गरी सिफारिस गर्न निर्देशन गरेको छ । त्यस्तो निर्णय क्षेत्रीय समितिहरूले भदौ १६ गतेसम्म गरिसक्न र २० गतेभित्र केन्द्रमा पठाइसक्न निर्देशन गरेको छ ।
क्षेत्रले गरेका सो निर्णयमा त्योभन्दा माथिका कार्यसमितिहरूले क्रमशः राय राख्ने र सिफारिस गर्नेछन् । विधानबमोजिम कांग्रेसको केन्द्रीय संसदीय समितिले उम्मेदवारको चयन गरी मनोनयन दर्ता गराउने व्यवस्था छ ।
प्रतिक्रिया