पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुमार लिङदेन पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस

चिन्तन खबर

फिदिम । आगामी मंसिर ४ गतेका लागि घोषित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन पाँचथरबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस हुनुभएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जिल्ला कार्यसमिति पाँचथरको मंगलबार फिदिममा सम्पन्न बैठकले अध्यक्ष लिङदेनलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन केन्द्रीय कार्यसमितिलाई सिफारिस गरेको हो । लिङदेन अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवार रहनुभएको थियो ।

हाल उक्त दलबाट प्रदेश नं. १ प्रदेश सभामा समानुपातिकतर्फ एक जना सदस्य रहनुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि लिङदेन सहित नेता सागर केरुङको नाम समेत सिफारिस गरिएको मञ्चका जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बेले जानकारी दिनुभयो ।

यस्तै प्रदेशसभा सदस्यतर्फ प्रदेशसभा निर्वाचन क्षेत्र नं. क का लागि नेताहरु रामकुमार लिङदेन, चन्द्रराज आङदेम्बे, देउकुमार नेम्वाङ, मधुराज केरुङ र सुवास केरुङको नाम सिफारिस भएको छ । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख का लागि दीपेन्द्र चेम्जोङ ‘लावाहाङ’, जितेन चेम्जोङ, प्रकाश अधिकारी र लोकमान शेर्माको नाम सिफारिस गरिएको अध्यक्ष आङदेम्बेले जानकारी दिनुभयो ।

यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यका लागि सुशीला राई मादेन र भक्तिप्रसाद नेम्वाङ सिफारिस हुनुभएको छ भने प्रदेशसभा समानुपातिकतर्फ सुनिता केरुङ, नरबहादुर हेम्ब्या, टीका राई र सिंहराज नेम्वाङ सिफारिस हुनुभएको सो पार्टीले जनाएको छ ।

बैठकले सुनिता केरुङको संयोजकत्वमा निर्वाचन परिचालन समिति, योगेश योङयाको संयोजकत्वमा आर्थिक ब्यवस्थापन समिति, रामकुमार लिङदेनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति र सुवास केरुङको संयोजकत्वमा निर्वाचन प्रचार–प्रसार उपसमिति गठन गरेको अध्यक्ष आङदेम्बेले जानकारी दिनुभयो । यस्तै जेष्ठ नागरिक दिवसको अवसर पारेर उक्त दलले पार्टीका आवद्ध ८० वर्ष माथिका नेता तथा कार्यकर्ताहरुलाई सम्मान गर्ने भएको छ ।