काठमाडौं । प्रहरीले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका बलात्कारको उजुरी परेको पुष्टि गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी परेको पुष्टि गरे ।
“सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म बुधबार भन्छु”, धानुकले भने । धानुकका अनुसार मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ ।
काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले पनि नाम नबताउने सर्तमा पीडित बालिकाको परिवारले लामिछानेविरूद्ध बलात्कारको जाहेरी दिएको पुष्टि गरे । उनकाअनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।
त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको ती अधिकारीले बताए। स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए।
लामिछाने भदौ ६ गते टी–२० सिरिज खेल्न केन्या गएका थिए। केन्यामा पाँच खेलको टी–२० सिरिज खेलेपछि उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका थिए। उनको अनुपस्थितिमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए।
प्रतिक्रिया