Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
चिनियाँ जनकांग्रेसका अध्यक्ष ली उच्चस्तरीय भेटवार्तामा व्यस्त « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

चिनियाँ जनकांग्रेसका अध्यक्ष ली उच्चस्तरीय भेटवार्तामा व्यस्त

चिन्तन खबर

काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा भनिएको भ्रमणमा सोमबार नेपाल आएका चीनका उच्चस्तरका नेता उनले बिहानैदेखि उच्चस्तरीय भेटवार्ता गरे । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।

प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो । चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले चीनले विगतका वर्षदेखि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा प्रशंसा गरे ।

सो अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पारेका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनका लागि पहल गर्ने जानकारी गराएको थियो ।

नेपालको अनुरोधको जवाफमा चिनियाँ पक्षले नेपालको एलडिसी स्थितिबाट सहज र दिगो स्तरोन्नतिलाई समर्थन गर्न सक्रिय प्रयास गर्न सहमत भएको समेत जनाएको छ । यसैगरी आज बिहान अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भयो ।

सो अवसरमा नेपाल–चीन सम्बन्धका विभिन्न विषयमा अन्तरसंसदीय आदानप्रदान र सहकार्यका विषयमा छलफल भएको थियो । उक्त अवसरमा दुवै देशको भौगोलिक अखण्डता, शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमिकताको सम्मान गर्दै विगतमा दुवै देशबीच भएका सहयोग र घनिष्ट सम्बन्धको चर्चा भएको थियो ।

आगामी दिनमा आपसी हितका विषयमा काम गर्ने, संसदीय सहयोग आदानप्रदान गर्ने र उच्चस्तरीय भ्रमण गर्ने विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । अध्यक्ष तिमिल्सिनाले दुई देश बीचको सम्बन्ध सदियौँदेखि हिमाल जस्तै अटल र नदी जस्तै निर्मल रहेको बताउँदै चीन नेपालको महत्वपूर्ण विकास साझेदार रहेकाले नेपालको समृद्धिमा पु¥याएको योगदानका लागि धन्यवाद दिएका छन्।

आजै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष लीबीच भेटवार्ता भयो । संसद् भवन नयाँ बानेश्वरमा उनीहरुबीच भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत थिए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष लीबीच आज प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भयो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । भेटमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल सहभागी थिए ।

आजै दिउँसो परराष्ट्रमन्त्री डा. नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो ।

सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अध्यक्ष लीले भोलि भदौ २९ गते अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा बुधबार बिहान भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।