काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरको शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । कांगेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीप्रति असन्तुष्टि जनाउँदै आएको कोइराला पक्षले बुधवार समान अवसर र न्यायको माग गर्दै पार्टी कार्यालय सानेपामा धर्ना दिएको हो ।
उनीहरु पार्टी कार्यालय अगाडि एक घण्टासम्म मौन धर्नामा बसेका हुन् । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन काइराला पक्षको माग छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा सहभागि थिए ।
संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्षले गत शुक्रवारदेखि विरोध जनाउँदै आएको छ । समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सकिने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका थिए ।
प्रतिक्रिया