Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पूर्वी नाकामा निगरानी बढेपछि घट्यो मानव तस्करी

चिन्तन खबर

झापा । पूर्वी नाका काँकडभिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् ।

मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेका छन् । काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो ।

पश्चिम तथा पूर्वी नेपालका दर्जनौँ पहाडी जिल्लाका किशोरी तथा बालबालिकालाई आपराधिक गिरोहले विभिन्न प्रलोभनको बहानामा यही नाका पार गरेर भारतका सहरमा बेचबिखनका लागि पुर्याउँदै आएको थियो । “केही वर्षयता काँकडभिट्टा नाकामा सुरक्षाकर्मीको सहयोगमा माइती नेपाललगायत सङ्घसंस्थाले कडा निगरानी गर्न थालेपछि आपराधिक गिरोहले विहारसँग जोडिएका सीमावर्ती नाका प्रयोग गर्न थालेको सूचना पाएका छौँ,” माइती नेपालका प्रदेश संयोजक घिमिरेले भने, “हाम्रै निगरानीका कारण काँकडभिट्टा नाकाबाट मानव तस्करी नियन्त्रण भएको छ ।”

उनका अनुसार सन् २०२१ मा काँकडभिट्टा नाकापार हुन लागेका चार सय ६८ जनालाई सोधपुछ गर्दा जोखिममा परेका ५४ जनालाई घर फिर्ता पठाइएको थियो भने ६६ जनालाई सीमापार हुनबाट जोगाइएको थियो । सन् २०२२ को सोही अवधिमा नाकामा एक हजार ५८ जनालाई सोधपुछ गर्दा जोखिममा परेका ५० जनालाई घर फिर्ता पठाइएको र एक सय ३४ जनालाई सीमापार हुनबाट जोगाइएको उनले जानकारी दिए ।

गत वर्षको तुलनामा सन् २०२२ को अवधिमा उद्धार भएका पीडितको सङ्ख्यासमेत न्यून छ । सन् २०२१ मा २२ जना पीडितको उद्धार भएकामा सन् २०२२ को सोही अवधिमा एक जनाको मात्र उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

“उद्धार भएका पीडितको सङ्ख्या पनि निकै कम छ, यसले उद्धार गर्नुपर्ने अवस्थामा कमी आएको हो कि भन्ने सङ्केत गर्दछ,” घिमिरेले भने, “तर मानव बेचबिखनको अपराधमा नै धेरै कमी आएको हो कि भनेर भनिहाल्न सकिन्न, यस अपराधमा संलग्न गिरोहले काँकडभिट्टा नाकामा कडाइ भएका कारण विहारतिरका सीमावर्ती नाका प्रयोग गरिरहेको छ ।”

माइती नेपालले पूर्वी नाका काँकडभिट्टामा दुई दशक अघिदेखि मानव तस्करी रोक्ने उद्देश्यले प्रत्यक्ष निगरानी गर्दै आएको छ । नाकामा सो संस्थाले निगरानीका लागि कार्यालय राखेर टोली नै परिचालन गर्दै आएको छ । हाल बाहुनडाँगी नाका समेतमा माइती नेपालका कार्यकर्ता खटिने गरेका छन् भने काँकडभिट्टामै संस्थाले पीडितको सुरक्षित आश्रयका लागि आवासीय पुनःस्थापना गृह सञ्चालन गर्दै आएको छ ।

माइती नेपाल प्रदेश संयोजन कार्यालय काँकडभिट्टाले सन् २०२२ मा मानव बेचबिखनसम्बन्धी दुईवटा मुद्दा प्रहरीको सहयोगमा अदालतमा दर्ता गराएको छ भने ७६ जना मानिस हराएको निवेदन परेकामा २५ जना फेला पारेको छ ।

संस्थाको पहलमा दुई वटा बलात्कारसम्बन्धी मुद्दा दर्ता गरिएको, घरेलु हिंसासम्बन्धी १८ वटा उजुरी आएको, राहदानी बनाउन जिल्ला प्रशासनमा आएका तीन हजार ५१ जना महिलालाई बेचबिखन जोखिमका विषयमा परामर्श दिइएको माइती नेपालले जनाएको छ ।

भारतको सिक्किम, पश्चिम बङ्गाल, आसाम, मेघालयलगायत विभिन्न प्रदेश जाने महत्वपूर्ण नाकाका रुपमा परिचित काँकडभिट्टामा हाल माइती नेपालले जस्तै टोली खटाएर सानाहात नेपाल, विश्व सेवा विस्तारलगायत आधा दर्जन संस्थाले मानव बेचबिखन विरुद्ध निगरानी बढाएका छन् ।

इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको गुल्मसमेतले अपराध नियन्त्रण र रोकथाम कार्यमा सघाउ पुर्याउँदै आएको हुँदा काँकडभिट्टा नाका मानव तस्करी धन्दामा संलग्नका लागि सहज छैन । यही कारण पछिल्ला दिनमा यस नाकाबाट मानव तस्करी घट्दो अवस्थामा पुगेको हो ।