फिदिम । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भएपनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नु पर्यो ।
हातपाउ गल्न थालेपनि आवश्यक जानकारी र साथ दिने कोही नहुँदा चनमति माझी ९३ वर्षको उमेरसम्म गैह्रनागरिक बनेरै बस्नुभयो । हिलिहाङ गाउँपालिका वडा नं. २ पिनासीकी चनमतिलाई हिँजो भनें उहाँकै घर पुगेको प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्या सहितको टोलीले नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ ।
सञ्चार माध्यमहरुमा ९३ वर्षको उमेरमा समेत चनमतिले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेको तथा नागरिकताको प्रमाणपत्रको अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन/प्रशारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएका थिए । चनमतिको अवस्था बुझ्न गतसाता जिल्ला प्रशासन कार्यालय पाँचथरको टोली उहाँको घर पुगेको थियो ।
नागरिकताको प्रमाणपत्र प्राप्त गर्न योग्य ब्यक्ति भएपनि चनमतिले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले हिँजो उहाँको घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिनुभयो । नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी चनमतिका श्रीमानको दुई वर्षअघि निधन भएको थियो ।
उहाँका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण चरम गरिबी र छिमेकीको सहायतामै चनमतिले वयोवृद्ध जीवन गुजार्दै आउनुभएको छ । नागरिकताको प्रमाणपत्रकै अभावका कारण चनमतिले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवा समेत लिन नपाएको उहाँका छिमेकीहरुको भनाई छ ।
बाख्रा र कुखुरा पालेर बस्नुभएकी उहाँलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन । तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने खुशी हुनुभयो ।
विगतमा श्रीमानको सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन चनमतिलाई सहज थियो । तर श्रीमानको निधनपछि उहाँको जीवन अभावमा गुज्रिरहेको छ ।
अव भने चनमतिको रेखदेखको जिम्मा लिने हिलिहाङ गाउँपालिकाले प्रतिवद्धता जनाएको छ । “उहाँको सहज जीवन यापनका लागि आवश्यक काम थाल्ने छौं”, गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले भन्नुभयो, “घर निर्माण गर्ने र रेखदेखको ब्यवस्था गर्छौं ।”
भत्केको सानो घरमा कष्टकर जीवन विताउन बाध्य चनमति अरुका घरमा गएर नबस्ने बताउँदै आउनुभएका कारण गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रवन्ध गर्ने सोच बनाएको उहाँको भनाई छ ।
प्रतिक्रिया