पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्भावित जोखिमलाई वेवास्ता गर्दा ‘किशोरी–सुत्केरी’को ज्यान गयो

चिन्तन खबर

पाँचथर । उमेर, तौल, रक्तचाप, शारीरिक अवस्था लगायतका कारण आउनसक्ने जोखिमलाई ख्याल नगरी स्थानीय स्वास्थ्य चौकीमै प्रसुती र उपचार गराउँदा पाँचथरमा एक ‘किशोरी–सुत्केरी’को ज्यान गएको पाइएको छ ।

प्रसुतीपश्चात आउन सक्ने सम्भावित जोखिमलाई ख्याल नगर्दा पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. २ की १९ वर्षीया सुत्केरी मनिषा आचार्यको ज्यान गएको पाइएको हो । सुत्केरी ब्यथाले च्यापेपछि परिवारले आचार्यलाई गत साताको बुधवार विहान ९ बजे माङ्जाबुङ स्वास्थ्य चौकीमा प्रसुतीका लागि भर्ना गरेका थिए ।

स्वास्थ्यकर्मीहरुका अनुसार उनले मध्यान्ह ११ः५५ बजे साधारण अवस्थामै २.७ किलोग्राम तौल भएको शिशू जन्माएकी थिइन । प्रसुतीपश्चात केही समय आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेपनि केही क्षणपछि रक्तश्राब सुरु भएको थियो ।

रक्तश्राब रोक्ने प्रयास गरेका स्वास्थ्यकर्मीले उनको उमेर, तौल, रक्तचाप र शारीरिक अवस्था लगायत कारण आउनसक्ने जोखिमलाई ध्यान नदिँदा सोही दिन उनको ज्यान गएको हो ।

उक्त स्वास्थ्य चौकीका इन्चार्ज सचिन्द्र मेहताका अनुसार प्रसुती भएको केही समयपछि आचार्यमा रक्तश्राबको समस्या देखिएको थियो । स्वास्थ्यकर्मीले औषधि दिई रक्तश्राब रोक्ने प्रयास गरेका थिए ।

यद्यपि आचार्यमा देखिएको रक्तश्राबको समस्या हल भए/नभएको विषयमा स्वास्थ्यकर्मी र मृतकका आफन्तजन तथा स्थानीयवासीका धारणा बाझिएका छन् । दिउँसो करीब ३ बजे जाउलो र दाल खाएपछि सुत्केरी बेहोस् भएको स्वास्थ्यकर्मीले वताएका छन् ।

यता मृतकका आफन्तजन र स्थानीयवासीले भने रक्तश्राबको समस्या निको नभएको र स्वास्थ्यकर्मीले समयमै सुविधासम्पन्न अस्पताल नपठाउँदा सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् ।

मृतकका दाजु मदन आचार्य शव परीक्षण रिपोर्टमा आन्तरिक रक्तश्राब र कम रक्तचापका कारण विरामीको निधन भएको देखिएकाले स्वास्थ्यकर्मीको लापरवाहीका कारण आफ्नी बहिनीको ज्यान गएको वताउनुहुन्छ ।

“स्वास्थ्यकर्मीले आन्तरिक रक्तश्राब, प्रेसर र विरामीको अवस्थाबारे ख्याल गर्नुपर्ने थियो”, आचार्यले भन्नुभयो, “हामीलाई साढे ४ बजेमात्रै विरामीको अवस्था कमजोर भएकाले बाहिर लैजान भनियो ।” प्रसुतीपछि कम रक्तचापका कारण विरामी उठ्न नसक्ने अवस्थामा पुग्दा समेत स्वास्थ्यकर्मीले सुविधासम्पन्न अस्पताल पठाउनेतर्फ ध्यान नदिई स्वास्थ्य चौकीमै राखेको परिवारको गुनासो छ ।

स्वास्थ्यकर्मीले विरामीको अवस्थालाई ख्याल गरेर समयमै बाहिर लैजान भनेका भए समयमै जिल्ला अस्पताल पु¥याउन सक्ने मृतकका दाजु मदनको भनाई छ । मृतकका परिवारले स्वास्थ्यकर्मीले जोखिमलाई ख्याल नगरेको र विरामीको अवस्थाबारे लापरवाही गरेकाले छानविन हुनुपर्ने माग गरेका छन् ।

“अहिले मेरी बहिनीको मात्रै ज्यान गएको हो । यस्तै गम्भीर लापरवाहीले भोलिका दिनमा अरुको ज्यान नजाओस् भन्ने मात्रै मेरो कुरा हो”, मदनले भन्नुभयो । माङ्जाबुङको चौथी बजारकी रेनुका खड्काका अनुसार अत्यधिक रक्तश्राब भएपछि समयमा जिल्ला अस्पताल नपठाउँदा सुत्केरीको अवस्था कमजोर बनेको थियो । “अलि चाँडो भएको भए विरामीको ज्यान बच्न सक्थ्यो”, खड्काले भन्नुभयो ।

स्वास्थ्यकर्मी भने विरामीको अवस्था जटिल बनेपछि आफूहरुले बाहिर लैजानु भनेको वताउँछन् । “४ बजेतिर विरामी एक्कासी बेहोस् भएपछि हामीले बाहिर लैजानु भनेका हौं । अवस्था छ जटिल भनेका थियौं”, स्वास्थ्य चौकीका इन्चार्ज मेहताले भन्नुभयो, “सोभन्दा अघि अवस्था त्यस्तो गम्भीर थिएनँ ।”

मृतकका जेठाजु नेत्रप्रसाद गड्तौला भने रक्तश्राबपछि तीन घण्टाभन्दा बढी समय स्वास्थ्य चौकीले बाहिर नपठाउँदा बुहारीको ज्यान गएको वताउनुहुन्छ ।

“भनेजस्तो उपचार गर्न नपाई बुहारीको निधन हुँदा मलाई साह्रै दुःख लागेको छ”, गड्तौलाले भन्नुभयो, “विरामीसँग रहेका आफन्तले तपाईंहरुले सक्नुहुन्न भनें बाहिर पठाइदिनु भन्दा समेत दिनभरि राखेर साँझ परेपछि जिल्ला पठाउने काम भयो । तत्कालै गाडी ब्यवस्था गरेर जिल्ला लगेपनि बाटैमा बुहारी वितिन ।” उपचार असम्भव भएपछि मात्रै स्वास्थ्यकर्मीले विरामीलाई रेफर गरेको र प¥याप्त ध्यान नदिएको गुनासो जेठाजु गड्तौलाको छ ।

अर्कोतिर सुत्केरीलाई उपचारका लागि सदरमुकामसम्म लैजान एम्बुलेन्स समेत नहुँदा ट्याक्सीमा हालेर लगिएको थियो । बेहोस भइसकेकी सुत्केरीलाई ट्याक्सीको सिटमा अड्याएर फिदिम स्थित जिल्ला अस्पताल पु¥याइएको भएपनि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

घटनापछि कुम्मायक गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थलगत रुपमा घटनाको विवरणबारे जानकारी लिएका छन् । सुत्केरीको अवस्थाबारे जानकारी गराई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरका माध्यमबाट सुत्केरीलाई सुविधासम्पन्न अस्पताल पु¥याउने सम्भावना हुँदाहुँदै जोखिमलाई ख्याल नगरिएको स्थानीयवासीको गुनासो छ ।

मनिषाले जन्माएका नाबालकको अवस्था भने सामान्य रहेको परिवारजनले जनाएका छन् । मनिषाका श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको बुझिएको छ ।