फिदिम । दोश्रो अधिवेशनबाट हिलिहाङ गाउँपालिकामा नेकपा (एमाले)को ५४ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ ।
हिजो बेलुकी सम्पन्न बन्द सत्रबाट सर्वसम्मतिले नयाँ कमिटी निर्वाचित भएको एमाले पाँचथरका प्रचार विभाग प्रमुख तुलसी थापाले जानकारी दिनुभयो । अधिवेशनबाट कमिटीको अध्यक्षमा सन्तकुमार लिङ्देन (सन्तोष) निर्वाचित हुनुभएको छ ।
उहाँ यसअघि अधिवेशन आयोजक कमिटीको सहसंयोजक हुनुहुन्थ्यो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा लक्ष्मीप्रसाद भण्डारी, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा वीरेन्द्र मंग्राती र रेशा रिजाल निर्वाचित हुनुभएको छ ।
गत वर्ष भएको गाउँपालिका अधिवेशनबाट एमालेले सबै स्थानीय तहमा नयाँ कमिटी निर्वाचित गरेको थियो । तर गत स्थानीय तह निर्वाचनमा हिलिहाङ गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार पराजित भएपछि जिल्ला कमिटीले गाउँपालिका कमिटी भङ्ग गरेको थियो ।
त्यसपछि भएको भेलाले अधिवेशन आयोजक कमिटी गठन गरेको थियो । सोही कमिटीले अधिवेशनमार्फत नयाँ कमिटी निर्वाचित गरेको एमाले पाँचथरले जनाएको छ ।
अधिवेशन हिजो नै सुरु भएको थियो । अधिवेशनको एमाले पाँचथर जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले पाँचथर जिल्ला कमिटी सचिव विष्णुप्रसाद सापकोटा, उपसचिवद्वय नरबहादुर गुरुङ र पृथ्वी लावती, नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषदका अध्यक्ष भुवानीप्रसाद लिङदेन सहितका नेताहरुको उपस्थिति थियो ।
प्रतिक्रिया