बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई पेट्रोल छर्केर आगो लगाइदिँदा छोराको मृत्यु भएको छ ।
कोहलपुर–१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् । बुवाले लगाएको आगोले जलेर गम्भीर घाइते भएका प्रिन्सको गएराति मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले उपचारका क्रममा बालक प्रिन्सको गए राति करिब १ बजेतिर मृत्यु भएको डाक्टरहरूलाई उद्धृत गर्दै जानकारी दिए। गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ।
उनको घाँटी र ढाडमा आगोले पोलेको छ। उनको नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आइतबार साँझ करिब साँढे ६ बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए। घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ।
घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ। भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको डिएसपी मल्लले जानकारी दिए। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया