धनकुटा । गायक प्रमोद खरेलले घनकुटा महोत्सवमा आयोजकले आफूलाई उपलब्ध गराउने भनेको रकम आफ्नो प्रस्तुतिअघि भएको भागदौडका घाइतेको उपचारमा खर्चने भएका छन् ।
आफ्नो प्रस्तुति हुनुअघि भएको घटनाबाट आफू स्तब्ध भएको बताउँदै खरेलले घटनामा घाइतेको उपचारका लागि पारिश्रमिक उपलब्ध गराएको बताएका हुन् । “उत्साह बोकेर धनकुटा गएको थिएँ । घटनाले मलाई असाध्यै दुखित तुल्याएको छ”, खरेलले भने । खरेल आफ्नो प्रस्तुतिको लागि महोत्सवस्थलबाट नजिकै रहेको होटल मुर्चुङ्गाबाट बाहिर निस्कँदै गर्दा घटना भएको थियो ।
उनको प्रस्तुति सुन्न सयौ दर्शक महोत्सवस्थल पुगेका थिए । उद्योग वाणिज्य संघले घटनाबारे जानकारी दिन आइतबार आयोजित पत्रकार भेलामा टेलिफोनमार्फत जनाएका हुन् । सांगीतिक कार्यक्रम प्रस्तुत गर्न नपाए पनि घाइतेको उपचारमा आफ्नो दायित्व भएकोले उनले बताए ।
घाइते बालबालिकाप्रति लक्षित गरी रकम उपलब्ध गराउन आयोजकलाई अनुरोध गरेको उनले बताए । यस्तै, खरेलले उपचाररत घाइतेहरुसँग अस्पतालमा भेटघाट गर्ने समेत जनाए । पारिश्रमिकको रकम भने खुलाउन चाहेनन् ।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईको पहलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । औषधिबाहेक सम्पूर्ण उपचार निःशुल्क मिलाइएको संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।
मनोरञ्जनात्मक कार्यक्रममा रोक
धनकुटामा सञ्चालन भइरहेको महोत्सवस्थलमा शनिबार राति भएको घटनापछि त्यहाँ आयोजना हुने भनिएका सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रममा रोक लगाइएको छ । घटनाबारे आइतबार जिल्ला सुरक्षा समिति बैठक बसेको छ । बैठकले सबै प्रकारको मनोरञ्जनात्मक कार्य बन्द गराउने निर्णय गरेको छ ।
महोत्सवस्थलमा गरिँदै आएको सांस्कृतिक कार्यक्रम, विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनमा रोक लगाएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताइन् । यस्तै, अपराह्न ५ बजेसम्म मात्र स्टल तथा अन्य व्यापारिक गतिविधि सञ्चालन गरिने निर्णय गरिएको जनाइएको छ ।
यसअघिका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको यसै साता सरुवा भएर गएपछि प्रशासकीय अधिकृत ममता अधिकारी निमित्त प्रजिअको रुपमा छिन् । नयाँ प्रजिअ लिलाकुमारी केसी पाण्डे भने जिल्ला आइसकेकी छैनन् ।
धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौ धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुति हुनुअघि करिब साढे ८ बजे राति उक्त घटना भएको हो । ३० जना घाइते भएका छन् । जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गत माघ ६ देखि सुरु गरिएको महोत्सव १६ गतेसम्म सञ्चालनमा हुने थियो । आयोजकले सोमबार महोत्सवको औपचारिकरुपमा समापन गर्ने जनाएको छ । (इकान्तिपुरबाट)
प्रतिक्रिया