पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँचथरमा ज्यान मार्ने उद्योगका तीन कसुरदार ७ वर्षपछि पक्राउ

चिन्तन खबर

फिदिम । ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका तीन जना कसुरदार सात वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिकाका एक युवकको ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका फालेलुङ–७ का सुजन राई, प्रकाश राई र अनिल राई पक्राउ परेका हुन् । फालेलुङ–८ मिराक हाङसरुम्बाको ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मिराकका बावु रतनबहादुर हाङसरुम्बाले दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो ।

२०७२ फागुन १२ गते भएको घटनामा पाँचथर जिल्ला अदालतले २०७५ बैशाक १३ गते तीनै जनालाई दोषी ठहर गरेको थियो । घटनापछि फरार कसुरदारहरु माघ २२ गते गाउँमै रहेको अवस्थामा फालेलुङ–७ सिदिनबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोषकुमार राईले जानकारी दिनुभयो । कसुरदारमध्ये सुजन र प्रकाशलाई अदालतले समान ४ वर्ष ११ महिना १८ दिन तथा अनिललाई ४ वर्ष ११ महिना ३ दिन कैद सजायको सुनाएको थियो ।

उनीहरुलाई अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । यस्तै माघ महिनाभित्रै पाँचथर प्रहरीले अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका १४ जना कसुरदारलाई पक्राउ गरेको जनाएको छ ।