पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पालिकास्तरीय फुटवल प्रतियोगिताका विजेता खेलाडीलाई याङवरक गाउँपालिकाद्वारा सम्मान

चिन्तन खबर

नेत्रप्रसाद कोइराला, थर्पु ।

पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा हिँजो सम्पन्न भएको पालिकास्तरीय चौथो कुम्मायक गोल्डकप फुटवल प्रतियोगिताको बिजेता याङवरक गाउँपालिकाका खेलाडीहरुलाई याङवरक गाउँपालिकाले सम्मान गरेको छ ।

पालिकास्तरीय प्रतियोगिताका विजेता खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास), उपाध्यक्ष बाबा मेन्याङ्बो सहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेन सहित कर्मचारी तथा याङवरकका खेलकुदप्रेमीहरुले साँस्कृतिक झाँकीसहित थर्पुमा स्वागत गरेका थिए । स्वागतपछि थर्पुस्थित सामुदायिक भवनमा खेलाडीहरु, टिम प्रशिक्षक तथा ब्यवस्थापकहरुलाई सम्मान गरिएको हो । गाउँपालिकाले खेलाडीहरु, टिम प्रशिक्षक तथा ब्यवस्थापकलाई जनही रु. ५ हजार पुरस्कार सहित सम्मान गरेको हो ।

प्रतियोगिताको आयोजक कुम्मायक स्पोर्टिङ क्लबले विजेता खेलाडीको टिमलाई याङवरक गाउँपालिकासम्म पु¥याएको थियो । खेलाडीहरुको सम्मानका लागि खेलाडीलाई गाउँपालिकाको केन्द्रसम्म पु¥याइएको आयोजक क्लबका अध्यक्ष रोहन घिमिरेले वताउनुभयो ।

उक्त प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले गाउँपालिकाले सम्मान गरेकामा खुशी ब्यक्त गर्दै खेलकुद क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरेका थिए । उनीहरुले क्षमता र प्रतिभावान खेलाडी विदेशिनुपर्ने, रोजगारीका लागि अन्यत्रै जानुपर्ने अवस्था अन्त्य गर्न र प्रशिक्षणको ब्यवस्था गर्न माग गरेका छन् । याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोले पालिकास्तरको प्रतियोगिताको उपाधि उचालेर याङवरकका खेलाडीले गाउँपालिकालाई ठूलो योगदान दिएको वताउनुभयो ।

याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)ले विगतमा आफू पनि खेलाडी भएको स्मरण गर्दै खेलाडीहरुका समस्या समाधानमा लागिपर्ने वताउनुभयो । पालिकास्तरीय प्रतियोगिताको उपाधि जितेपछि याङवरकको भागमा धेरै जिम्मेवारी आइपरेको भन्दै उहाँले खेलकुदको प्रवर्द्धन गर्ने प्रभावकारी योजना र खाका तयार गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । उहाँले वडा स्तरमा खेलकुदको विकासका लागि ठोस् योजना बनाउन, खेलाडीका समस्या समाधानका उपाय निकालेर प्रस्ताव अघि बढाउन वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

हिँजो यासोकमा सम्पन्न चौथो कुम्मायक गोल्डकपमा याङवरक गाउँपालिकाले फाल्गुनन्द गाउँपालिकालाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । उपाधिसँगै याङवरकका जमिन लिम्बू प्रतियोगिताको उत्कृष्ट खेलाडी, सुमन योङ्या उत्कृष्ट फरवार्ड, पुुष्कर काम्बाङ फाइनल खेलको उत्कृष्ट खेलाडी, रविन बेघा उत्कृष्ट गोलकिपर र तुफान क्षेत्री उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । प्रतियोगिता सम्पन्न गर्न याङवरक गाउँपालिकाले रु. ५१ हजार सहयोग समेत गरेको छ ।