नेत्रप्रसाद कोइराला, थर्पु । याङवरक गाउँपालिका र गाउँपालिकाको ३ नं. वडा कार्यालयले विहीवार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिस सहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न एकै सेवाग्राहीलाई धमाधम थियो ।
निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडेको स्थान भएपनि यहाँका सेवाग्राही करीव एक घण्टाको दूरीमा रहेको गाउँपालिकाको केन्द्र थर्पु पुगेर गाउँपालिकाका सेवा लिन नसकेको घुम्ती शिविरको भीडले देखाउँथ्यो । सामाङ्खुका हंशबहादुर सेलिङले एकैसाथ सागशब्जीको बीउ विजन, गाई र बाख्राका लागि भिटामिन र औषधिहरु र आफ्ना लागि केही औषधि लिनुभयो ।
सडकसँगै घर रहेपनि थर्पु पुगेर सेवा लिन हंशबहादुर अझै तयार हुनुभएको थिएन । “सबै सेवा यसरी सहज पाइन्छ भन्ने पहिले थाहा थिएन । शिविर आएपछि मात्रै सेवा लिन सकें”, सेलिङले भन्नुभयो, “यस्तो शिविर भविश्यमा पनि आयोजना भए हुन्थ्यो ।”
सामाङ्खुकै वीरेन्द्र सेलिङले शिविरकै दिन मात्रै जानकारी पाउनुभएको थियो । “मलाई सागशब्जीको बीउविजन चाहिएको थियो । शिविरमा धेरै पाइएन”, उहाँले भन्नुभयो, “शिविरकै दिन मात्रै थाहा पाएकाले धेरै सेवा लिन सकिनँ । पछि पनि यस्ता कार्यक्रम भए हुन्थ्यो ।”
वीरेन्द्र पनि यसरी सरकारी सेवा सहजै पाइन्छ भन्ने थाहा नभएको वताउनुहुन्छ । घुम्ती शिविरमा आएका अधिकांश सेवाग्राही सरकारी सेवाको उपलब्धताबारे जानकार नहुनुका साथै ती सेवा लिने प्रक्रियाबारे अनविज्ञ रहेको पाइन्थ्यो ।
घरदैलोमा सेवा पाएपछि भने सेवाग्राहीले सोधेर, बुझेर पाएसम्मका सेवाहरु लिएका थिए । एकीकृत घुम्ती शिविरमा उक्त वडाका विभिन्न टोलका १७० बढी सेवाग्राही आएका थिए । तर गाउँपालिकाका सबै शाखाको सेवा उपलब्ध शिविरबाट ५०० भन्दा बढी सेवा प्रवाह भएको छ । जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकले सोधिखोजी गरेपछि सेवाग्राही धेरै सेवा पाए दैनिकी सहज हुने आशामा देखिन्थे ।
उक्त वडाका वडाध्यक्ष बिमल राईका अनुसार एकीकृत घुम्ती शिविरबाट अपाङ्गता परिचयपत्रबाट ८ जना, पशु सेवा कार्ड वितरण, पशु स्वास्थ्य परीक्षण र औषधि वितरणबाट १ सय जना, घटना दर्ताबाट ९ जना, विभिन्न प्रकारका सिफारिसबाट ६० जना लाभान्वित भएका छन् । यस्तै गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी र आँखा उपचार केन्द्रका स्वास्थ्यकर्मीले प्रदान गरेको स्वास्थ्य परीक्षण सेवाबाट ५६ जना र आँखा जाँचबाट ३४ जना लाभान्वित भए ।
१० जना जेष्ठ नागरिकले जेष्ठ नागरिक परिचयपत्र पाएका छन् भने ३१ जनालाई बेरोजगार दर्ता र नवीकरणबाट गरिएको छ । शिविरमा ९८ जनाले विभिन्न प्रकारका बीउबिजन पाएका छन् । उपलब्ध नभएका बीउबिजन माग गर्नेको सङ्ख्या पनि उत्तिकै छ । यस्तै सामाजिक सुरक्षा भत्ताबाट ९ जना, प्रहरी सर्जमिनबाट १ जना लाभान्वित भएका छन् भने शिक्षातर्फका ५ वटा योजना सम्झौता भएका छन् ।
स्थानीय सरकार जनताको दिन दैनिकीसँग जोडिएको सरकार हो भन्ने अनुभूति दिलाउन यस प्रकारका शिविर जरुरी देखिएको वडाध्यक्ष राईको भनाई छ । “धेरै सेवाग्राही अन्यत्र गएर सेवा लिन सक्षम नभएकाले टोल र घरमा गएर सेवा दिने उद्देश्य राखेर शिविर आयोजना गर्न थालेका हौं”, राईले भन्नुभयो, “सरकार र जनताको सम्बन्ध विस्तार गर्ने र सरकारको उपस्थिति घरघरमा पु¥याउन खोजेका छौं ।” एकीकृत सेवा प्रवाह गर्दा धेरै सेवाग्राही लाभान्वित भएको उहाँको भनाई छ ।
नागरिकको आवश्यकताका सेवाहरु भूगोलका हिसाबले नजिकको सरकारबाट टाढा परेको अवस्थामा शिविरको आयोजना गरी प्रवाह गर्दा प्रभावकारी देखिएको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनको भनाई छ । “सबै प्रकारका सेवा एकै स्थानबाट प्रवाह गर्दा धेरै सेवाग्राहीले लाभ लिन सक्नुभयो । यस प्रकारका कार्यक्रमको निरन्तरताका लागि प्रयास गर्नेछौं”, लिङदेनले भन्नुभयो ।
निर्माणाधीन मध्यपहाडी लोकमार्गले याङवरक गाउँपालिकाका छ वटै वडालाई समेटेको छ । तर गाउँपालिकाका वडा नं. १, २ र ३ मा छरिएको वस्ती हुनुका साथै भूगोलका हिसाबले गाउँपालिकाको केन्द्र पुग्न समय लाग्दछ । गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको अवस्थामा शिविरमार्फत गाउँपालिका घरसम्म आइपुग्छ भन्ने अनुभूति दिलाउने प्रयास गरिएको गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्या (सुवास)को भनाई छ ।
“तीन वडाका जनताले गाउँपालिकाको केन्द्र टाढा परेको अनुभूति गर्नुभएको कुरामा हामी जानकार छौं । त्यसले सबै सेवा दिएर एक दिन भएपनि गाउँपालिका आफ्नै टोल आँगन छ भन्ने अनुभूति दिलाउन खोजेका हौं”, उहाँले भन्नुभयो ।
गाउँपालिकाले सबै शाखाका कर्मचारीहरु, प्राविधिक तथा स्वास्थ्यकर्मीहरु समेतलाई एकीकृत शिविरमा खटाई जनतालाई सहज सेवा प्रवाह गर्ने कामको सुरुआत गरेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोको भनाई छ । गाउँपालिकाले आगामी दिनमा समेत यस प्रकारका सेवा भौगोलिक रुपले टाढा रहेका वडा नं. १ च्याङथापू, वडा नं. २ फलैंचा र वडा नं. ३ ओयामका विभिन्न टोलमा सञ्चालन गर्ने मेन्याङ्बोले जानकारी दिनुभयो ।
प्रतिक्रिया