पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६ पोखरी र ३२ प्रजातिका लालीगुराँस रहेको सुकाधापमा पर्यटक भित्र्याउन महोत्सव

चिन्तन खबर

फिदिम । करीव दुई किलोमिटर दूरीमा ठूला छ वटा र एक दर्जन बढी स–साना पोखरी । सबैका आ–आफ्नै विशेषता र बनावट । वरिपरी गुराँस, चिमल र चाँपका रुखको घना जङ्गल । थरिथरीका गुराँसले मन तानिरहने । वीच–वीचमा चौंरी र गाईको चरन रहेका हरिया फाँटहरु ।

चौंरी र गाईका गोठबाट निस्कने धुँवा र घण्टीको आवाजको माधु¥यता पनि उस्तै । जता–जता र जति घुमे पनि उत्तिकै आनन्द लागिरहने पोखरी, गुराँस, जङ्गल र चौरहरु सङ्गम हो पाँचथरको याङवरक गाउँपालिका वडा नं. १ मा अवस्थित लामपोखरी सुकाधाप क्षेत्र ।

नेपाल–भारत सीमावर्ती क्षेत्रभन्दा करीव ५ किलोमिटर मुनि रहेको यो क्षेत्र पर्यटकहरुले भ्रमण नगरेको एक ‘कुमारी गन्तब्य’ हो । यहाँ लामपोखरी, सुकापोखरी, हिलेपोखरी, जलजलेपोखरी, गुन्टेपोखरी र झ्याउपोखरी गरी छ वटा पोखरीहरु रहेका छन् ।

प्रशस्तै खोज र अनुसन्धान नभएपनि ३२ प्रकारका लालीगुराँस पाइएको वताइने यो क्षेत्र दूलर्भ वन्यजन्तु रातोहाब्रे (रेडपाण्डा) सहित भीरमौरी, चरीबाघ, कस्तुरी, मृग लगायतको बासस्थानका रुपमा परिचित छ ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको याङवरक गाउँपालिका वडा नं. स्थित च्याङथापू बजारबाट कच्ची सडक वा पैदल यात्राबाट पुग्न सकिने यो स्थान अहिले थरिथरीका गुराँस फूलेर निकै आकर्षक बनेको छ । कतिपयले गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रसँग तुलना गर्ने यो स्थान प्रचार–प्रसारको अभाव तथा पूर्वाधारको कमीका कारण पर्यटकको नजरमा पर्न सकेको छैन् ।

महोत्सवको निरन्तरता

धेरै गुराँस पाइने भएका कारण एक दशक अघिबाट यस क्षेत्रमा लालीगुराँस महोत्सव आयोजना गर्न थालिएको थियो । लामपोखरी क्षेत्रको विकास र संरक्षणमा सक्रिय संस्थाहरुले आयोजना गर्ने महोत्सवले निरन्तरता नपाएसँगै चर्चामा आउन लागेको यो स्थान पुनः गुमनाम हुँदै गएको थियो । तर यस वर्षबाट याङवरक गाउँपालिका वडा नं. १ को कार्यालयले महोत्सव आयोजना गर्न थालेको छ ।

नयाँ वर्ष २०८० को अवसर पारेर शुक्रवार आयोजित महोत्सवमा जिल्लाको याङवरक र फालेलुङबाट उल्लेख्य सङ्ख्यामा पर्यटक पुगेका थिए । आन्तरिक पर्यटकहरु विशेषत प्राकृतिक सुन्दरता, गुराँस, चिमल र चाँप फूलेको नियाल्न तथा पोखरीमा रमाउन यहाँ पुगेको भेटिन्थे । महोत्सवलाई निरन्तरता दिइएकोमा उनीहरु उत्साहित र खुशी थिए ।

महोत्सवको अवसर पारेर वडा कार्यालयले गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनीतिक दलका स्थानीय नेताहरु, गाउँपालिका भित्रका सरोकारवालाहरुलाई यस क्षेत्रको स्थलगत भ्रमण गराएको छ । झण्डै तीन घण्टामा पोखरीहरुको एकसरो भ्रमण सकिने यहाँ पर्यटन विकासमा ठूलो लगानी आवश्यक नरहेकाले आवश्यक सहयोग गर्न तथा सहयोग जुटाउन गाउँपालिकालाई माग गरिएको वडाध्यक्ष राजेन्द्र खालिङ राईले वताउनुभयो ।

महोत्सवका अवसरमा उक्त क्षेत्रको अवलोकनपछि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास), उपाध्यक्ष बाबा मेन्याङ्बो सहितका जनप्रतिनिधिहरुले यस क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । हजारौं रोपनी क्षेत्रफलमा रहेको घना जङ्गल, गुराँस, चिमल र चाँपका प्रजाति, बन्यजन्तु तथा जडिबुटी आदिको अध्ययन गर्ने, यहाँ रहेका पोखरीहरुलाई संरक्षण गर्ने र समग्र क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउन स्थानीयवासी तथा वडाले राखेको मागलाई कार्यान्वयन गर्ने अध्यक्ष योङ्याले प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

“वातावरणीय र जैविक विविधताका हिसावले यो क्षेत्रमा निरन्तर क्षति भइरहेको, पोखरीहरु सुकिरहेको पाइयो”, योङ्याले भन्नुभयो, “यस क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाई स्थानीयको आम्दानीको स्रोत बनाउनेमा हाम्रो ध्यान जानेछ ।”

लामपोखरी–सुकाधाप क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी प्रचार–प्रसार गर्ने, यहाँसम्म पुग्ने सडकको स्तरोन्नति तथा फाक्लुङ–फालोट मोटरबाटो निर्माण गर्ने यहाँको वातावरण, पर्यावरण, भूगोल र जैविक विविधताको अध्ययन गरी स्थानीय पाठ्यक्रममा यी विषयलाई समावेश गर्ने, उक्त क्षेत्रलाई संरक्षित बनाउने, याङवरक–६ कालापानीबाट चरिभञ्ज्याङ–सातथुम्की–सुकाधाप–लामपोखरी–तोरीफूले–चिवाभञ्ज्याङ पदमार्ग निर्माण गरी पर्यटन सर्किट घोषणा गर्ने, होमस्टे तथा गोठस्टे निर्माण गर्ने, चौंरी, गाई र भेडापालक कृषकलाई पर्यटनमा जोड्ने, सार्वजनिक शौचालय लगायत संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको यस क्षेत्रका नागरिक अगुवा नरबहादुर गुरुङको भनाई छ ।