फिदिम । कानून हातमा लिएर कार्यालय सहयोगीमाथि कुटपीट गरेको घटनामा पाँचथरको याङवरक गाउँपालिका, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूको शरणमा परेको छ ।
लिङ्देनले आइतवार विहान गाउँपालिकाका कार्यालय सहयोगी छत्रप्रसाद सुवेदीमाथि कुटपीट गरेको घटनामा कमजोरीहरु ढाकछोप गर्न सिङ्गो गाउँपालिका लिङ्देनको शरण परेको हो । लिङ्देनले सुवेदीमाथि कुटपीट गरेको, सुवेदीले जिल्ला अस्पतालमा उपचार गराएको तथा उनको अनुहारमा चोट, निल र डाम देखिइरहेको अवस्थामा गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुवास) र उपाध्यक्ष बाबा मेन्याङ्बोले सरकारी लेटरप्याडमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै घटना नै नभएको आशय ब्यक्त गरेका छन् ।
एक अविच्छिन उत्तराधिकारप्राप्त र स्थानीय स्तरको सर्वाधिकारसम्पन्न सरकारका प्रमुख र उपप्रमुखले एक कार्यालय सहयोगी कर्मचारीको मानवअधिकार, ब्यक्तिको जीउधनको सुरक्षा तथा न्यूनतम मानवीय संवेदनाविपरित समेत ख्याल नगरी विज्ञप्ति प्रकाशन गरेका हुन् । तीन टाँका लगाउनु पर्ने गरी लिङ्देनले कुटपीट गरेको विषयमा गाउँपालिकाको प्रेस विज्ञप्तिमा भनिएको छ ‘यस गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये दुई पक्षवीच सामान्य विवाद तथा गलत बुझाइले गर्दा सिर्जित सामान्य प्रकृतिको घटना रहेको र सामाजिक सञ्जालमा उल्लेख भएजस्तो गम्भीर कुटपीट नभएको…’।
घटनामा यस गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष वा कुनै जनप्रतिनिधि जोडिएका छैनन् । तर योङ्या र मेन्याङ्बोले कुटपीटलाई सामान्य देख्ने मात्रै होइन्, प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगीलाई रगतपछ्य होउञ्जेल कुटपीट गर्ने घटनालाई ‘सामान्य प्रकृतिको घटना’ करार गरिदिएका छन् ।
अझ गम्भीर त गाउँपालिका उपाध्यक्ष मेन्याङ्बो र प्रमुख प्रशासकीय अधिकृत लिङ्देन सोमवार फिदिम आई पीडित कार्यालय सहयोगी सुवेदीलाई फकाई गाउँपालिका फकाएर लैजान्छन् । ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चल्न सक्ने विषयलाई गाउँपालिकाले संस्थागत रुपमै बचाउ गरेको पाइन्छ भने सुवेदीको सुरक्षाबारे प्रश्न पनि उठेको छ ।
तर गाउँपालिकाको प्रेस विज्ञप्तिमा यस्ता हास्यास्पद, वेप्रसंज्ञी र अनावाश्यक तर्क गरिएका छन्, जसको गाउँपालिकाकै फेसबुक पेजमा स्थानीयवासीले खण्डन, विरोध र आपत्ति जनाएका छन् । विज्ञप्तिमा लेखिएको छ ‘उक्त विषयलाई सत्यतथ्य नबुझी आवश्यकताभन्दा बढी गलत रुपमा टिका टिप्पणी गरी सिङ्गो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका विषयमा प्रश्न चिन्ह खडा नगरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।’
अझ एक कदम अघि बढेर विज्ञप्तिमा भनिएको छ ‘यस घटनाको विषयलाई लिएर अतिरञ्जित तरिकाले घटनाको विषयलाई तोडमोड गरी कर्मचारी तथा सिङ्गो गाउँपालिकाको मान मर्यादा, गरिमा र प्रतिष्ठामाथि आँच आउने गरी विभिन्न पत्रपत्रिका, सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनावाश्यक टिका टिप्पणी तथा भ्रामक समाचार सम्प्रेषण नगरिदिनु हुन पुनश्चः सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगीमाथि कुटपीट गरेको विषयले न त गाउँपालिकाको मान, मर्यादा र प्रतिष्ठामा आँच आउँछ, न त यो विषय कुनै भ्रामक नै हो । अझ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विज्ञप्तिमा भनेजस्तो सिङ्गो गाउँपालिकाको अस्तित्व, स्वाभिमान, कार्यसम्पादन, कर्मचारी प्रशासन लगायतका विषयमा प्रश्न चिन्ह प्रमुख प्रशासकीय अधिकृत लिङ्देनको ब्यवहारबाटै स्पष्ट हुन्छ ।
यो विज्ञप्ति प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले जारी गरेका होइनन् । यो त लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय रहि गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु हस्ताक्षर गरी जारी गरेका हुन् । तर मानवअधिकार, सम्मानपूर्वक बाच्न पाउने मौलिक हक, कर्मचारीहरुको अधिकारबारे सामान्य ज्ञान समेत नराखी कुटपीटको घटनामा प्रमुख प्रशासकीय अधिकृतको इशारामा आफैं न्यायाधीशसरह पदावली जनप्रतिनिधिहरुले नै दिएका हुन् ।
अझ सो प्रेस विज्ञप्तिमा लिङ्देनले सुवेदीमाथि कुटपीट गर्नुको कारण जनप्रतिनिधिले खुलाएका छैनन् । जुन विषय झनै गम्भीर र संवेदनशील छ ।
भएको के थियो ?
स्रोतका अनुसार शनिवार राती ११ः३० बजे लिङ्देनको मोवाइलमा म्यासेज आउँछ । एनसेलको नम्बरबाट आएको म्यासेजमा के कुरा थियो भन्ने स्पष्ट भएको छैन् । न यो कुरा लिङ्देनले खुलाएका छन् त त गाउँपालिकाले नै । यसपछि लिङ्देनले उक्त मोवाइलमा राती १ बजेसम्म फोन गर्छन् । तर फोन रिसिभ हुने आवाज नआउने भएपछि लिङ्देनले प्रहरी अधिकारीलाई आफूमाथि ब्ल्याकमेलिङ भएको भनेर सूचना पनि दिन्छन् ।
आइतवार विहान सबेरै लिङ्देनले सुवेदीलाई आफ्नो क्वाटरमा बोलाउँछन् । राती कति बजेसम्म ? कुन होटलमा बसेको ? भनेर उनले सोधिखोजी गर्छन् । सुवेदी १०ः३० बजेसम्म अर्का कर्मचारी सुवर्ण केदेमको कोठामा बसेर त्यसपछि आफ्नो कोठा गएको जवाफ दिन्छन् । लिङ्देनले सुवेदीलाई छोडिदिन्छन् ।
आइतवार नै गाउँपालिकाको सार्वजनिक परीक्षणको कार्यक्रम गाउँपालिकाको सभाहलमा आयोजना गरिएको हुन्छ । सुवेदी सोही सभाहल सरसफाई गरिरहेका बखत पुनः लिङ्देनले आफ्नो कोठामा डाक्छन् । सुवेदी लिङ्देनको कोठामा नपुग्दै दोश्रो पटक फोन आउँछ । उनी हतार–हतार लिङ्देनको क्वाटरमा पुग्छन् । खाना खाँदै गरेका लिङ्देनले हातको इशाराले बस्न भन्छन् । त्यहाँ लिङ्देनका ब्यक्तिगत भान्से र अर्का एक कर्मचारी पनि हुन्छन् । लिङ्देन उठ्छन् र कोठाको चुक्कुल लगाउँछन् । ‘तैंले के म्यासेज पठाएको ?…’ भनेर घाँटी न्याक्सी उनले सुवेदीमाथि अन्धाधुन्द मुक्का प्रहार गर्छन् । उक्त एनसेलको सिमकार्ड सुवेदीका नामबाट झिकेको लिङ्देनको दाबी रहन्छ ।
लिङ्देनले म्यासेज पठाएको शंका गरी क्वाटरमा बोलाएका अर्का कर्मचारी त्यतिबेलै घटनास्थल पुग्छन् । उनले ढोका ढक्कढक्याएपछि लिङ्देनले ढोका खोल्छन् । पछि छिरेका कर्मचारीले रगतपच्छे भएका सुवेदीको अघिल्तिर उभिएर लिङ्देनलाई छेक्छन् । सुवेदीले ‘पाथीभरा कसम मैले म्यासेज पठाएको होइन्…’ भनेर कसम खान्छन् । स्रोतअनुसार ‘तेरो पाथीभराले केही गर्दैन्’ भन्दै लिङ्देनले निरन्तर मुक्का प्रहार गर्छन् ।
जिल्ला विकास समिति, जिल्ला समन्वय समिति, हिलिहाङ गाउँपालिका हुँदै याङवरक गाउँपालिका पुगेका १३ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत सुवेदीमाथि यसरी लिङ्देनले आक्रमण गर्नुको कारण के होला ? यो कतैबाट सार्वजनिक हुँदैन् । पत्रकार भीमकुमार बाँस्कोटाले लिङ्देनलाई पटक–पटक सुवेदीमाथि मुक्का हान्नुको कारण के हो ? म्यासेज के भनेर आएको छ र कुटपीट गर्नु प¥यो ? भनि टेलिफोनमा प्रश्न गर्दा लिङ्देनले कुनै स्पष्ट जवाफ दिएका छैनन् । बरु आफू पछि फोन गर्ने, भेटेर बताउने भन्दै तर्किन खोजेका छन् । न त उक्त म्यासेज वा सोको आशय नै सार्वजनिक गरेका छन् न त म्यासेज पठाइएको सिमकार्डको नम्बर नै ।
घटना यति गम्भीर प्रकृतिको भएपनि गाउँपालिका अध्यक्ष र उपाध्यक्षको विज्ञप्ति हेर्दा लाग्छ कुनै घटना घटेकै छैन । गाउँपालिका स्रोतका अनुसार म्यासेजमा लिङ्देनको सोही गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध रहेको दाबी गरिएको छ । यसबारे स्वतन्त्र पुष्टि हुने कुनै आधार नरहेपनि उक्त अनैतिक सम्बन्धबारे जानकार ब्यक्तिबाटै म्यासेज गएको हुनसक्ने स्रोत दाबी गर्छ ।
तर गाउँपालिकाको विज्ञप्तिमा न म्यासेजबारे छानविन गर्ने, दोषीमाथि कारबाही गर्ने विषय नै उल्लेख छ न त अनैतिक सम्बन्धबारे छानविन गर्ने विषय नै । एक अधिकृतले लेखेको भाषा र शैलीमा सही धस्काएका जनप्रतिनिधिलाई गाउँपालिका–६ का युवा मिलन योङहाङले फेसबुक कमेण्टमा लेखेका छन् – ‘कर्मचारीहरु कुटाकुट खेल्छन् पालिकाको बदनाम गर्छन् कानूनको खिल्ली उडाउछन् अनि फेरि अनावश्यक टिप्पणी नगर भन्ने तपाईहरु को हो ? यो झगडाको कारण के हो सत्य तथ्य बाहिर आवोस् फटाहाहरुलाई संरक्षण गर्ने काम बन्द गर !’
प्रतिक्रिया