पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किराँत गोल्डकपः विर्तामोड युनाइटेड फाइनलमा प्रवेश

चिन्तन खबर

फिदिम । झापाको विर्तामोड युनाइटेड फुटवल क्लब पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको सेमिफाइनल खेलमा कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई २–१ गोलअन्तरले पराजीत गर्दै विर्तामोड उपाधिनजिक पुगेको हो । फिदिम स्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुरुआती अग्रता भने ताप्लेजुङले लिएको थियो । ताप्लेजुङका दीपेश लिम्बूले खेलको आठौं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

तर ३१औं मिनेटमा ताप्लेजुङका खेलाडीले डि–बक्स क्षेत्रभित्र फल्ट गर्दा विर्तामोडले पेनाल्टीको अवसर पायो । उक्त अवसरलाई विर्तामोडका रोमन भुजेलले गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याए । मध्यान्तरअघि निकै आकर्षक खेल प्रदर्शन गरेको विर्तामोडले पहिलो हाफको अतिरिक्त समयमा पुनः गोल गर्न सफल भयो । विर्तामोडका प्रदीप बुढाथोकीले गरेको गोल नै विर्तामोडको विजयका लागि प¥याप्त बन्यो ।

मध्यान्तरपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल भएनन् । अन्तिम समयमा ताप्लेजुङले गोल गर्ने प्रयास गरेपनि सफल नहुँदा विर्तामोड फाइनलमा पुगेको हो । आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) विर्तामोडका प्रदीप बुढाथोकी घोषित हुँदै रु. ५ हजार रकम र मेडल प्राप्त गर्नुभयो ।

उपाधिका लागि विर्तामोडले डाँगीहाट फुटवल क्लब (डीएफसी) मोरङसँग शनिवार प्रतिस्पर्धा गर्नेछ । मोरङ बुधवार आयोजक पाँचथर फुटवल क्लबलाई पराजीत गर्दै फाइनलमा पुगेको थियो । नवस्थापित पाँचथर फुटवल क्लबको आयोजनामा आयोजित प्रतियोगिताको विजेताले रु. चार लाख चार हजार ४४४ र उपविजेताले रु. दुई लाख दुई हजार २२२ रकम प्राप्त गर्नेछन् । विधागत रुपमा समेत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पुरस्कृत गरिने आयोजक संस्थाका अध्यक्ष अनुराग मगरले जानकारी दिनुभयो ।