पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौथो पाँचथर गोल्डकप शनिवारदेखि, सम्पूर्ण तयारी पूरा

चिन्तन खबर

फिदिम । पाँचथर क्लबको आयोजनामा शनिवारदेखि फिदिममा चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिता हुँदैछ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगिताको भोलि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि आयोजक संस्थाले फिदिम माध्यमिक विद्यालयको निर्माणाधीन खेलमैदानलाई थप मर्मत गरेको छ । यसअघि किराँत गोल्डकप फुटवल प्रतियोगिता सञ्चालित यस खेलमैदानमा बाँसको अस्थायी प्याराफिट पाँचथर क्लबले समेत थपेको छ ।

प्रतियोगिताको सञ्चालनपूर्व आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले क्लबको जर्सी तथा प्रतियोगिताका विजेता र उपविजेताले प्राप्त गर्ने ट्रफी सार्वजनिक गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष निशान सिवाकोटीसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

शनिवार हुने उदघाटन खेलमा आयोजक पाँचथर क्लब र नमोबुद्ध फुटबल क्लब सप्तरीवीच प्रतिस्पर्धा हुनेछ । ए डिभिजनको फुटवल क्लब त्रिभुवन आर्मी सहित आठ फुटवल टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार र उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको खेल तालिकाअनुसार फागुन १३ गते झापा ११ फुटबल क्लब, झापा र रेडहर्स फुटबल क्लब, इलामवीच प्रतिस्पर्धा हुनेछ । यसैगरी फागुन १४ गते बागमती युथ क्लब सर्लाही र पथरी ११ फुटबल क्लब, मोरङवीच प्रतिस्पर्धा हुने भएको छ । फागुन १५ गते प्रतियोगिताको पाहुना टोली भारतको हिल्स फुटबल एकेडेमी र त्रिभुवन आर्मी क्लबवीच अघिल्लो चरण प्रवेशको प्रतिस्पर्धा हुनेछ ।

फागुन १६ गते र १७ गते सेमिफाइनलका खेल सञ्चालन हुनेछन् भने फागुन १९ गते फाइनल खेल सञ्चालन हुने भएको छ । प्रतियोगितामा म्यान अफ दी म्याचले रु. ५ हजार, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु. १० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उदयमान खेलाडी र सर्वोकृष्ट खेलाडीले रु. १५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।