पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापा–११ पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापा–११ फुटवल क्लब, झापा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा रेडहर्स फुटवल क्लब इलामलाई १–० गोलअन्तरले पराजीत गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । झापाका लागि ६४औं मिनेटमा प्रदीप बुढाथोकीले गोल गर्नुभयो । हेडमार्फत बुढाथोकीले गर्नुभएको गोल नै झापाको विजयका लागि प¥याप्त बन्यो ।

खेलको सुरुआतमा निकै आकर्षक प्रदर्शन गरेको इलामले झापालाई दबावमा राखेको थियो । तर पाएका अवसरमा गोल गर्न नसक्दा राम्रो प्रदर्शनका बावजुत इलाम समूह चरणबाट बाहिरिएको छ । इलामले विदेशी खेलाडीहरु मौसा, औस्कार र भेरतीलाई समेत मैदानमा उतारेको थियो ।

मध्यान्तरपछि आक्रामक खेल प्रदर्शन गरेको झापाले गोल गरेपश्चात पाएका केही राम्रा अवसरलाई गोलमा परिणत गर्न सकेन । तर ६४ मिनेटमा प्राप्त अग्रतालाई बचाउन सफल हुँदा झापाको सेमिफाइनल यात्रा निश्चित भएको थियो । आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) गोलकर्ता झापाका प्रदीप बुढाथोकी घोषित हुनुभयो । उहाँले रु. पाँच हजार पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्नुभयो ।

प्रतियोगितामा खेल अवधिभरी आकर्षक तरिकाले आफ्नो रोजाइको टिमलाई समर्थन गर्ने दर्शक समेत पुरस्कृत हुने गरेका छन् । आजको खेलमा झापा–११ का पक्षमा समर्थन गर्ने फिदिमकी झरना खवास फ्यान अफ दी म्याच घोषित हुनुभयो । खवासले रु. दुई हजार ५०० पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै प्रतियोगितामा भाग्यचिठ्ठामार्फत एक जना दर्शकलाई सुटआउट हिरो घोषणा गर्ने गरिएको छ । आज सुटआउट हिरोका लागि अवसर पाएका प्रथम ब्यक्तिले गोल गर्न नसकेपछि फिदिमकै देविका गुरुङले गोल गर्दै सुटआउट हिरो बन्न सफल हुनुभयो ।

उहाँले पनि रु. दुई हजार ५०० पुरस्कार प्राप्त गर्नुभएको आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो । सुटआउट हिरोले मध्यान्तरको समयमा खेलमैदानको मध्यभागबाट खाली पोस्टमा गोल गर्नुपर्छ ।

प्रतियोगिताको तेश्रो खेलमा भोलि राइटलेन एजुकेशन बागमती युथ क्लब, सर्लाही र पथरी–११ फुटवल क्लब मोरङवीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो ।

हिँजोबाट सुरु भएको प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार तथा उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक पाँचथर क्लबले जनाएको छ ।