पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मीलाई

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिममा आयोजित चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटवल क्लबले जितेको छ ।

आज पाँचथरको फिदिम स्थित फिदिम माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोलअन्तरले पराजीत गर्दै आर्मीले उपाधि उचालेको हो । उपाधिसँगै आर्मीले रु. पाँच लाख पाँच हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको आयोजक पाँचथर क्लबले रु. दुई लाख ५५ हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

आज भएको निकै प्रतिस्पर्धात्मक खेलको ३१औं मिनेटमा आर्मीका पदम तामाङले आफ्नो टोलीका लागि पहिलो गोल गर्नुभएको थियो । तर ३९औं मिनेटमा आयोजक पाँचथरका लागि आशिष चापागाईंले दिनेश शेर्माको पासलाई गोलमा परिणत गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

४७औं मिनेटमा आयोजक पाँचथरले अर्को गोल गर्न सफल भयो । पाँचथर क्लबका प्रशान्त लक्समले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । तर यसपछि आर्मीले खेललाई दबावमा राख्न सफल भयो । ५३औं मिनेटमा डि–बक्स क्षेत्र नजिकै पाँचथर क्लबका खेलाडीले गल्ती गर्दा पाएको मौकालाई आर्मीका सन्तोष केसीले फ्रिकीकमार्फत गोलमा परिणत गर्नुभयो ।

बराबरीमा पुगेको आर्मीका लागि ६१औं र ७९औं मिनेटमा गोल गर्दै दीपकुमार लामाले आफ्नो टिमको विजय सुनिश्चित गर्नुभएको थियो । फाइनल खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) घोषित हुँदै आर्मीका पदम तामाङले रु. पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा वसन्त तामाङ, उत्कृष्ट मिडफिल्डरमा रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षकमा आदर्श मल्ल र उत्कृष्ट गोल रक्षकमा नवीन परियार बन्न सफल हुनुभयो । उहाँहरु चारै जना त्रिभुवन आर्मी क्लबबाट हुनुहुन्छ । उहाँहरुले जनही रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।

यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्तामा आयोजक पाँचथर क्लबका शुकराज राई घोषित हुँदै रु. १० हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको उदयमान खेलाडीमा पाँचथर क्लबका मनिष क्षेत्री र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा पाँचथर क्लबकै रोषन आङ्देम्बे घोषित हुँदै रु. १५ हजार पुरस्कार प्राप्त गर्नुभएको आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिनुभयो ।

विजेता, उपविजेता तथा विधागत विजेता खेलाडीलाई कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

पाँचथर क्लबले फागुन १२ गतेदेखि फिदिममा आयोजना गरेको प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ फुटवल टोलीले सहभागिता जनाएका थिए । फिदिम माविको निर्माणाधीन खेलमैदानमा आयोजित प्रतियोगितालाई वाइवाइ चाउचाउले प्रायोजन गरेको थियोभने जिल्लाका स्थानीय तहहरुले प्रवद्र्धन गरेका थिए ।