फिदिम । गत असोज १२ गते आएको बाढीले पुल बगाएका यहाँका दुई खोलामा फड्के निर्माण गरी मानिसको आवतजावतलाई सहज बनाइएको छ ।
मेची राजमार्गअन्तर्गत नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमा हेंवा खोला तथा फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका १ र ११ को सीमा फेमे खोलामा फड्के निर्माण गरिएको हो । पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रुहरु, बटुवा तथा स्थानीयवासीलाई सहज भएको छ ।
मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको बेलिब्रिज बगाएको स्थानभन्दा करीव १०० मिटर तल मोटरसाइकल समेत तर्ने फड्के निर्माण भएको छ । नेपाली सेनासहित तीन वटै सुरक्षा निकाय, फिदिम नगर प्रहरी, फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका तथा स्थानीय युवाहरुको सक्रियतामा चार दिन लगाएर उक्त फड्के बनाइएको हो ।
यहाँ रहेको बेलिब्रिज बाढीले बगाएपछि जिल्लाको फालेलुङ, हिलिहाङ र याङवरक गाउँपालिका सहित ताप्लेजुङ जिल्ला सडक सम्पर्कबाट बिच्छेद भएका छन् । अहिले मेची राजमार्गको यात्रा गर्ने यात्रुहरु हेंवा खोला वारी र पारी रहेका सवारीका साधनसम्म करीव आधा घण्टा पैदल यात्रा गरेर पार गर्दै आएका छन् । वर्षा कम भएपछि फड्के निर्माण गरिएको स्थान नजिकै सडक डिभिजन कार्यालय इलामले डाइभर्सन निर्माण गर्ने तयारी गरिरहेको छ ।
यता फिदिम नगरपालिकाकै वडा नं. १०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने फेमे खोलाको सडक पुल बाढीले बगाएपछि यातायात पूर्णरुपमा अवरुद्ध छ । यहाँ सहज स्थानमा झोलुङ्गे पुल समेत नभएपछि स्थानीयवासीको सक्रियतामा आज अस्थायी फड्के निर्माण गरिएको हो ।
असोज ११ र १२ गते झरेका पहिरा तथा खोलाखोल्सीमा आएको बाढीले यहाँको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन् । यहाँ पर्ने मेची राजमार्ग बाढी र पहिराले लथालिङ्ग बनेको छ भने जनजीवन कष्टकर बन्दै गइरहेको छ । फिदिम–२ रमितेमा झरेको पहिराले मेची राजमार्ग अवरुद्ध बनाएको छ ।
प्रतिक्रिया