काठमाडौँ । पाँचथरको फालेलु–५ स्थित डाँडागाउँमा बम विस्फोट हुँदा दुईजना नाबालकले ज्यान गुमाए । मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षीय प्रियसा साँवा छन् ।
डाँडागाउँस्थित आइतराज केरुङको घरमा भेटिएको बम नाबालकहरूले खेलाउँदा विस्फोट भएको आशंका गरिएको छ । युद्धकालमा ल्याएर सो घरमा राखेको बम अहिले विस्फोट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । विस्फोट भएको घरका एकजना पूर्वलडाकु हुन् । घरधनी त्यहाँ बस्दैनन् । छिमेकीलाई घरको रेखदेख गर्न भनेर उनीहरू घर छाडेर हिँडेका थिए ।
बम पहिलादेखि नै सो घरमा रहेको अनुसन्धानबाट खुलेको कोशी प्रदेशका डीआईजी चन्द्र कुबेर खापुङले रातोपाटीलाई बताए । उनले भने, ‘युद्धमा प्रयोग भएको बम मिसप्लेस भएर अहिले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ ।’
अहिले विस्फोट गराउने उद्देश्यले बम राखेको पुष्टि नभएको डीआईजी खापुङको भनाई छ । बम कम्पनी मेड जस्तो देखिएको छ । डाँडागाउँस्थित सो घरमा अर्को पनि बम भेटिएको छ । सैनिक टिमले थप भेटिएको एकथान बम निष्क्रिय बनाएको छ । डीआईजी खापुङ भन्छन्, ‘विस्फोट हुँदा टुक्रा नउछिट्टिएको हुनाले युद्धकालमा उज्यालोका लागि प्रयोग गर्न खरिद गरेको आशंका छ ।’ रातोपार्टीबाट
प्रतिक्रिया