पाँचथर । क्यान्सर पीडित पत्रकार कबिन्द्र सेर्मालाई आर्थिक सहयोग गरिएको छ । सोमवार पाँचथरको फिदिममा एक कार्यक्रमको आयोजना गरी सेर्मालाई घुमन्ते ग्रुपले ३ लाख ६९ हजार ३४० रुपैयाँ सहयोग गरेको हो ।
सामाजिक सञ्जाल टिकटकको लाइभमा बसेर देश विदेशबाट संकलन गरेको रकम पीडित सेर्मालाई सहयोग गरेको ग्रुपका पाँचथर सदस्य सान्ती राईले बताउनुभयो । छिमेकी देश भारतको दार्जेलिङ निवासी घुमन्ते ग्रुपका अध्यक्ष दिनेश लिम्बूको उपस्थितिमा संकलन गरिएको रकम जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देबेले हस्तान्त्रण गर्नुभएको थियो ।
घुमन्ते ग्रुपका अध्यक्ष लिम्बूले यसअघि पनि सयौँ सामाजिक अभियानमा सहयोग गरेको भन्दै गरिब, असहाय तथा पीडित गरी ४० जना भन्दा बढिलाई सहयोग गर्दै बताउँनुभयो । नेपाली भाषी असल छिमेकीको रुपमा नेपाली धेरै सहयोग गर्दै आएको बताउँदै लिम्बूले आवश्यक परे आगामी दिनमा पनि पत्रकार शेर्मालाई थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सुवेक्षुक र दाताहरुको निरन्तर सहयोगले आत्मबल बढेको भन्दै बाँच्ने आस पलाएकोे सेर्माले बताउनुभयो । निरन्तरको सहयोग र हौसलाले प्राण घातक रोग क्यान्सरलाई जितेर पत्रकारीता क्षेत्रमा फर्किने सेर्माको भनाइ छ ।
आर्थिक सहयोग हास्तन्त्रणका प्रमुख अथिति समेत रहेका समन्वय प्रमुख आङ्देम्बेले सामाजिक संजालको प्रयोगले धेरै नागरिकको जीवन रक्षा भएको भन्दै घुमन्ते ग्रुपको प्रशंसा गर्नुभयो । सामाजिक संजाल दुखी, पीडित र असाहयको सारथी बनेको उनको भनाइ थियो ।
क्यान्सर पीडित सेर्मा २८ वर्षदेखि निरन्तर पत्रकारिता पेशामा आवद्ध हुनुहुन्छ । उहाँ, तीन वर्षदेखि प्राणघातक रोग क्यान्सरसँग संघर्ष गरिरहनु भएको छ । सेर्माको उपचार भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा र काठमाडौंको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।







प्रतिक्रिया