यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी खोप सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा मंगलबार सम्पन्न गोष्ठीमा खोप समन्वय समिति, स्वास्थ्यकर्मी तथा खोप कार्यकताहरुलाई अभियान संचालन हुनेबारे जानकारी गराइएको थियो ।
माघ २७ देखि २९ गतेसम्म कक्षा ६ का छात्राहरु विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई आधाभूत र संस्थागत विद्यालयहरुमा खोप अभियान संचालन हुने भएको छ । कुम्मायक गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न भएको गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालयका सोमनाथ दंगालले गोष्ठीको सहजिकरण गरेका थिए ।
गोष्ठीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघ सस्थाका प्रतिनिधि, शुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरुलाई दंगालले पाठेघरको मुखको क्यान्सरको कारण, लक्षण, रोकथामका उपाय तथा एच.पि.भी खोपको भूमिका सम्बन्धी जानकारी दिनुभएको थियो ।
एच.पि.भी संक्रमण नै पाठेघरको मुखको क्यान्सरको मुख्य कारण रहेको उल्लेख गर्दै किशोरी अवस्थामै खोप लगाउँदा भविष्यमा क्यान्सरको जोखिम निकै हदसम्म घटाउन सकिने जानकारी गराइएको थियो । खोप अभियानले पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको महत्वबारे चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
पालिका स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीको अध्यक्षतामा भएको गोष्ठीको संचालन स्वास्थ्य शाखा प्रमुख केदार बहादुर खड्काले गर्नुभएको थियो । सोही कार्यक्रममा फागुनको पहिलो सातामा गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषण गर्ने निर्णय समेत गरिएको छ ।







प्रतिक्रिया