पाँचथर । पाँचथरको फिदिममा मोटरसाइकलसहित विभिन्न मेसिन चोरी गरी अर्को मोटरसाइकललाई जंगलमा लगेर आगो लगाई पूर्ण रूपमा नष्ट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ बस्ने २७ वर्षीय करण आले मगर रहेका छन्।
प्रहरीका अनुसार भदौ १८ गते राति फिदिम नगरपालिका–१ नमुना लाइन बस्ने फडिन्द्र सम्बाहाम्फेको डेराबाट ग्यालेण्डर मेसिन एक थान, सर्कुलर कटर एक थान र ड्रिल मेसिन एक थान चोरी भएको थियो।
सोही रात सन्तकुमार राईको नाममा रहेको प्र.१–०३–००१ प ५१५८ नम्बरको रातो–कालो रङको यामाहा मोटरसाइकलसमेत चोरी भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मे.१ प ७०७७ नम्बरको निलो–कालो रङको पल्सर मोटरसाइकल डाँडा सामुदायिक वन छेउमा लगेर आगो लगाई पूर्ण रूपमा नष्ट गरी फरार भएको प्रहरीको भनाइ छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा चोरी तथा आगजनीमा संलग्न रहेको आरोपमा मगरलाई भदौ २१ गते फिदिम नगरपालिका–१ वरडाँडाबाट पक्राउ गरेको हो।
पक्राउ परेका मगरलाई जिल्ला अदालत फिदिम, पाँचथरबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।








प्रतिक्रिया