पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यालयसंग डेढ करोड बढीको सम्झौता, दश कोठे भवन निर्माणको अनुमति


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–४ नम्बर वडाको सिद्ध मावि रानीगाउँ तिङदेनको १० कोठे पक्की भवन निर्माण हुने भएको छ । भवन निर्माणको लागि विद्यालय र ह्युमन प्य्राक्टिस फाउन्डेसन बीच १ करोड ५४ लाख ५७ हजार ६१६ रुपैयाँको लागतमा सम्झौता भएको हो ।
भवन निर्माणको लागि ह्युमन प्य्राक्टिस फाउन्डेसन (एच.पि.एफ) ९० लाख ९२ हजार ५४८ रुपैयाँ, प्रदेश सरकारको ४३ लाख ७० हजार ६८ रुपैयाँ र गाउँपालिकाको १९ लाख ९५ हजार रुपैयाँ गरी रु १ करोड ५४ लाख ५७ हजार ६१६ रुपैयाँको लागतमा भवन निर्माण हुने भएको हो ।

(एच.पि.एफ) का कार्यक्रम निर्देशक अमित श्रेष्ठ र विद्यालयका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले सयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेसंगै भवन निर्माणको प्रक्रिया अघि बढेको हो । विद्यालयको भौतिक पूर्वाधार विकाससंगै शैक्षिक वातावरण सुधार गर्ने उद्देश्यले १० कोठे भवन निर्माणका लागि सम्झौता गरिएको विद्यालयका प्रधानाध्यापक सम्बाहाम्फेले बताउनुभयो ।

२०८३ असोज ६ गतेदेखि २०८४ जेठसम्ममा भवन निर्माणको काम पुरा गर्नुपर्ने ह्युमन प्य्राक्टिस फाउन्डेसन (एच.पि.एफ) कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । शौचालय सहितको सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि थप कक्षाकोठा उपलब्ध हुने तथा पठनपाठनमा सहजता आउने अपेक्षा गरिएको छ ।

सम्झौता अनुरुप भवन निर्माणका लागि आवश्यक प्रक्रिया पूरा गरी निर्माण कार्य अघि बढाइनेछ । भवनमा आवश्यक कक्षाकोठासहित विद्यालयको शैक्षिक गतिविधि सञ्चालनका लागि उपयोगी संरचना निर्माण गरिने भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुख बहादुर सम्बाहाम्फेले भवन निर्माणका लागि सहयोग गर्ने एच.पि.एफ. प्रदेश र गाउँपालिका प्रति धन्यवाद व्यक्त गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित सबै पक्षसँग सहकार्य गर्नेमा जोड दिनुभयो ।

योजना सम्झौता कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती, उपाध्यक्ष महेन्द्र बहादुर खड्का, कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावती, (एच.पि.एफ) सिकाई अधिकृत जनक भट्ट सहित कर्मचारी र बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।