नेत्रप्रसाद कोइराला, थर्पु ।
पाँचथरको याङवरक गाउँपालिकामा सम्पन्न विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि थर्पु नमूना माध्यमिक विद्यालयले उचालेको छ ।
याङवरक गाउँपालिका–५ शिरिसे माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको प्रतियोगितामा कूल १५ स्वर्ण, १२ रजत र ११ कास्य पदक जित्दै थर्पु नमूना मावि याङवरक–४ प्रथम बनेको हो । थर्पु नमूना माविले लगातार तीन पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि उचालेको हो । याङवरक गाउँपालिकाले घोषणा गरेबमोजिम लगातार तीन पटक उपाधि उचाल्दै उक्त विद्यालयले ५० हजार रुपैयाँ पुरस्कार समेत जितेको छ ।
यस्तै १३ स्वर्ण, ८ रजत र ५ कास्य पदक जित्दै गणेश मावि याङवरक–६ द्वितीय बनेको छ । यसैगरी ५ स्वर्ण, ७ रजत र ७ कास्य पदक जित्दै गुप्तेश्वर मावि याङवरक–३ तृतीय बनेको छ । विभिन्न विधाका प्रतिस्पर्धात्मक प्रतियोगिता हुने राष्ट्रपति रनिङ शिल्डमा गाउँपालिकाका ६ वटा विद्यालय सहभागी भएका थिए ।
उपाधि विजेता, द्वितीय र तृतीय राष्ट्रपति रनिङ शिल्डको समापन कार्यक्रमका प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्या (सुबास), उपाध्यक्ष बाबा मेन्याङ्बो लगायतले पुरस्कार वितरण गर्नुभयो । विद्यालयहरुले खेलकूद तथा अतिरिक्त क्रियाकलापमा आकर्षक प्रगति गरेको भन्दै गाउँपालिका अध्यक्ष योङ्याले प्रसंशा गर्नुभयो । उहाँले प्रतियोगिता सम्पन्न गरेकामा आयोजक विद्यालय सहित सबैलाई धन्यवाद दिनुभयो ।
यस्तै आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड याङवरक–६ को गणेश माविका हुने भएको छ । प्रतियोगिता सञ्चालनका लागि गाउँपालिका अध्यक्ष योङ्याले राष्ट्रिय झण्डा सो विद्यालयका प्रधानाध्यापक अभि भारतीलाई हस्तान्तरण गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का खानेपानी, सिंचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री मेन्याङ्बोले खानेपानी तथा सिंचाईका कार्यक्रमहरु सञ्चालनको सुरुआत पाँचथरको याङवरक गाउँपालिकाबाट गर्ने वताउनुभयो ।
प्रतिक्रिया