फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पाँच दिने औद्योगिक तथा पर्यटन मेला आजदेखि सुरु भएको छ । जिल्लाको पर्यटन, लघु–घरेलु उत्पादनको प्रवद्र्धन साथै बजारीकरण गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङकोे आयोजनामा पहिलो पटक मेला आयोजना गरिएको हो ।
महासङ्घ ताप्लेजुङका सचिव हर्कराज गुरुङले स्थानीय उत्पादनलाई बजारीकरण गरी संलग्न उद्यमीको आयआर्जन वृद्धि गर्न साथै प्रतिस्पर्धात्मक उत्पादनमा जोड दिने उद्देश्यले मेला आयोजना गरिएको जानकारी दिनुभयो । औद्योगिक तथा पर्यटन मेलामा लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित सामग्रीको ३० प्रदर्शनी कक्ष छ । आफ्नो उत्पादन बजारीकरण र प्रचारप्रसार गर्नका लागि पाँचथर, इलाम, तेरथुम र सङ्खरसभा जिल्लाबाट पनि उद्यमी ताप्लेजुङ आइपुग्नुभएको आयोजकले जनाएको छ । कृषि, जडीबुटी, वन, पशु तथा पर्यटनसम्बन्धी जानकारी साथै अवलोकन गर्न सकिने सचिव गुरुङले जानकारी दिनुभयो ।
यस्तै मौलिक तथा स्थानीय खाद्य महोत्सव, खाँडी, अल्लो, ढाका तथा स्थानीय वेषभूषाको प्रदर्शनी रहने छ । पर्यटन तथा औद्योगिक फोटो प्रदर्शनी, औद्योगिक कविता वाचन प्रतियोगिता तथा नाटक मञ्चन, चोयाको डोको र गजेरा बुन्ने सीपमूलक तालिम, प्रदेशस्तरी औद्योगिक छलफल तथा अन्तक्र्रियासमेतको आयोजना गरिएको महासङ्घका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो ।
उद्योग श्रम तथा रोजगार मन्त्रालय प्रदेश १, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ, फुङ्लिङ नगरपालिका लगायतको सहयोग रहेको आयोजकले जनाएको छ । मेलाको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा साङ्गीतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया