Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
डेढ वर्ष कनिष्ठलाई आइजीपी बनाइएपछि एआइजी पोखरेलद्वारा राजीनामा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

डेढ वर्ष कनिष्ठलाई आइजीपी बनाइएपछि एआइजी पोखरेलद्वारा राजीनामा

चिन्तन खबर

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ ।

पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनायो । पोखरेलले एआइजी पूजा सिंहमार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । एआईजीमा बढुवा भएको डेढ महिनामै सिंह आइजीपीमा नियुक्त भएका थिए ।

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलीपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए ।

तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो । पोखरेल महानिरीक्षकमा बढुवा भएको भए २०७९ चैतसम्म प्रहरी सेवामा रहन्थे ।

तर, सिंह आईजीपी बनेपछि पोखरेल एआइजीको उमेर हदका कारण आगामी २० गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । त्यस अघि नै उनी नियमित काममा नफर्की राजीनामा दिएर बाहिरिएका हुन् । आईजीपी सिंह र एआईजी पोखरेल २०४९ चैतमा एकै दिन प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् । (इकान्तिपुरबाट)