पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेङ्गुका लक्षणहरू, डेङ्गु ज्वरो कहिलेसम्म रहन्छ ?

गम्भीर डेङ्गु  Dengue Hemorrhagic Fever भनेको के हो ?

चिन्तन खबर

काठमाडौं । अधिकांश डेङ्गुको संक्रमणले लक्षणहरू उत्पन्न गर्दैन । डेङ्गुको संक्रमण भएका व्यक्तिहरुमा प्राय जस्तो उच्च ज्वरो (१०४ डिग्री फारेनहाइट वा ४० डिग्री सेल्सियससम्म) देखिन्छ ।

साथै डेङ्गु संक्रमित व्यक्तिहरुमा निम्न उल्लेखित लक्षणहरु पनि देखिन्छन्ः

  • आँखाको पछाडि (भित्रि) भाग दुख्नु
  • वाकवाकी लाग्नु
  • मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु
  • शरीरका ग्रंथिहरु सुन्निनु
  • छाला रातो हुनुका साथै छालामा डाबर आउनु
  • लामखुट्टेले टोकेको ४ देखि १० दिनपछि डेङ्गु ज्वरोको लक्षण देखिन थाल्छ र लक्षणहरु ३ देखि ७ दिनसम्म रहन सक्छ ।
  • डेङ्गुबाट पीडित २० जनामध्ये एक जनामा डेङ्गुको प्रारम्भिक लक्षण देखिन थालेपछि गम्भीर डेङ्गु हुने गर्छ ।

डेङ्गु ज्वरो कहिलेसम्म रहन्छ ?

डेङ्गुका प्रारम्भिक लक्षणहरु ३ देखि ७ दिनसम्म रहन्छ । यस पछि धेरै मानिसहरूले ठीक भएको महसुस गर्न थाल्छन्, तर केहीलाई प्राणघातक गम्भीर डेङ्गु हुन्छ जसको लागि चिकित्सा उपचारको आवश्यकता हुन्छ ।

गम्भीर डेङ्गु  Dengue Hemorrhagic Fever भनेको के हो ?

गम्भीर डेङ्गुका लक्षणहरू जीवनको लागि खतरा हो । ज्वरो हटेको २४ देखि ४८ घण्टापछि गम्भीर डेङ्गुको लक्षण देखिन्छ ।

डेङ्गु भाइरसका कारण तपाईंको रक्तनलीहरू क्षतिग्रस्त भएको खण्डमा गम्भीर डेङ्गु हुन्छ ।

गम्भीर डेङ्गु भएमा तपाईंको रगतमा प्लेटलेट्सको संख्या घट्छ । यसले गर्दा आन्तरिक रक्तस्राव हुनसक्छ र शरीरका अङ्गहरूले काम गर्न छोड्ने र बिरामीको मृत्यु हुने सम्भावना समेत बढाउँछ ।

डेङ्गुको गम्भीर ज्वरोको चेतावनी संकेत वा लक्षणहरू चाँडै विकास हुन सक्छ । त्यस्ता संकेतहरू सामान्यतया ज्वरो हटेको पहिलो वा दोस्रो दिन पछि सुरु हुन सक्छ र यी निम्न प्रकारका हुन सक्छन्ः

  • पेट दुख्नु
  • लगातार बान्ता हुनु
  • गिजा वा नाकबाट रक्तस्राव हुनु
  • दिसापिसाब वा बान्तामा रगत देखिनु
  • सास फेर्न गाह्रो हुनु, छिटो थकान हुनु
  • चिडचिडाहट या बेचैनी हुनु
  • छालामुनि रक्तस्राव हुनु, जुन छालामा रातो घाउ जस्तो देखिन सक्छ

यदि तपाईंलाई डेङ्गु लागेको छ वा डेङ्गुको प्रकोप भएको क्षेत्रमा बस्नुहुन्छ भने र यी लक्षणहरू मध्ये कुनै पनि अनुभव भएमा तुरुन्तै नजिकको अस्पतालमा जानुहोस् ।

डेङ्गु ज्वरोको उपचार कसरी गरिन्छ?

डेङ्गु ज्वरोको उपचार गर्ने कुनै खास औषधि हुँदैन ।

यो रोग लागेको खण्डमा हामीले आफ्नो लक्षणहरू व्यवस्थापन गर्नुपर्छ र गम्भीर लक्षणहरु देखापरेमा तुरुन्तै डाक्टर कहाँ वा तुरुन्तै आपतकालीन कक्षमा जानुपर्छ ।

डेङ्गु ज्वरोको लक्षणलाई कसरी व्यवस्थापन गर्ने ?

डेङ्गु ज्वरोको उपचार गर्ने एक मात्र उपाय भनेको लक्षणको व्यवस्थापन गर्नु हो, जस्तैः

  • प्रशस्त पानी र तरल पदार्थ पिउने
  • सकेसम्म धेरै आराम गर्ने
  • ज्वरो नियन्त्रण गर्नका लागि Paracetamol प्रयोग गर्ने
  • इबुप्रोफेन (Ibuprofen)  वा एस्पिरिन  (Aspirin)  को प्रयोग नगर्ने। यी औषधीले आन्तरिक रक्तस्रावको खतरा बढाउन सक्छ ।

डेङ्गु ज्वरोबाट कसरी बच्ने ?

लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।

डेङ्गुको भाइरस बोक्ने लामखुट्टे बिहानदेखि साँझसम्म सक्रिय हुन्छन् र रातमा पनि टोक्न सक्छन् त्यसैले यस भाइरसबाट बच्न हामीले विशेष सावधानी अपनाउनु पर्ने हुन्छ जस्तै:

  • घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
  • लामो बाहुला भएको लुगा लगाउने
  • घर वरीपरी भएका पानी जम्न सक्ने पुरानो टायरहरु, बाल्टी तथा ब्यारेलहरु हटाउने
  • हप्तामा कम्तिमा एक पटक घर वरपरको गमलाको प्लेट, फुल दानी, कुलर, खाली कन्टेनरहरू र पुरानो टायरहरुलाई सफा गर्ने
  • यदि तपाईं गर्भवती हुनुहुन्छ भने सम्भव भएसम्म डेङ्गु को सङ्क्रमण भएको ठाउँमा नजाने

डेङ्गुबाट बच्नको लागि डेङ्गुको खोप पनि प्रयोग गर्न सकिन्छ । तर डेङ्गुको भ्याक्सिन पहिले नै डेङ्गु भएको व्यक्तिहरुलाई मात्र

सिफारिस गरिन्छ।

यसले भविष्यमा डेङ्गु भाइरसको फरक संस्करणले गर्दा डेङ्गु लागेको खण्डमा गम्भीर डेङ्गु (डेङ्गु हेमोरेजिक फिभर) को जोखिम कम गर्न सक्छ।

विश्व स्वास्थ्य संगठन (WHO) ले डेङ्गु रोग लागेको क्षेत्रमा डेङ्गु ज्वरो कम गर्न डेङ्गुको भ्याक्सिन आफैँमा प्रभावकारी माध्यम नभएको बताएको छ ।

तसर्थ लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टेको संख्या नियन्त्रण गर्नु नै डेङ्गु ज्वरो फैलिनबाट रोक्ने मुख्य उपाय हो ।