फिदिम । जिल्ला अस्पताल पाँचथरले विरामीको मागका आधारमा सेवाहरु विस्तार गर्दै लगेको छ ।
जिल्ला अस्पतालले गत पुस महिनाबाट ५ वटा नयाँ सेवाहरु सञ्चालनमा ल्याएको हो । चिकित्सकहरु थप गर्दै अस्पतालले नयाँ सेवा विस्तार गरेको जनाएको छ ।
पुसबाट यहाँ थप भएका सेवाहरुमा हाडजोर्नी तथा नसाको रोगको बहिरंग (ओपीडी) तथा शल्यक्रिया सेवा, जनरल सर्जरी बहिरंग सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया (शल्यक्रिया गर्दा विरामी बेहोस् बनाउने) सेवा छन् ।
५० शैया सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण भएपछि अस्पतालले आन्तरिक श्रोतबाट नयाँ चिकित्सक भर्ना गरेर सेवा विस्तार गरेको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेका अनुसार आन्तरिक श्रोतबाट चिकित्सकहरु नियुक्त गरी नयाँ सेवा विस्तार गरिएको हो ।
अस्पतालले गत महिनाबाट विशेषज्ञ चिकित्सकहरु जनरल सर्जरीतर्फ डा. प्राञ्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नसा रोगतर्फ डा. देउमान लिम्बू र एनेस्थेसियोलोजिस्ट डा. गणेश वनलाई नियुक्त गरेको आङ्देम्बेले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालले हाल आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, प्रसुती सेवा, अन्तरंग सेवा, दन्त रोग सेवा, मातृ शिशु र खोप सेवा, सरुवा किटजन्य तथा महामारी रोग सेवा, क्याबिन सेवा, आँखाको बहिरंग सेवा र एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ ।
यस्तै कार्यक्रम सेवाका रुपमा यस अस्पतालले निःशुल्क नवजात शिशू सेवा, निःशुल्क प्रसुती सेवा, स्वास्थ्य बिमा सेवा, सामाजिक सुरक्षा सेवा, लैङ्गिक संकट ब्यवस्थापन एकद्वार सेवा र निःशुल्क गर्भपतन सेवा सञ्चालन गरिरहेको छ । यस्तै बाल रोगसम्बन्धी विशेषज्ञ सेवा सञ्चालनलाई निरन्तरता दिने प्रयास भइरहेको अध्यक्ष आङ्देम्बेले वताउनुभयो ।
थप भएका सेवाबाट साना गाँठागुठी फाल्ने, बोसो जमेको फाल्ने, गहिरो चोटपटक लागेका घाउहरुको उपचार गर्ने, पोलेको घाउहरुको उपचार, हाइड्रोसिल, मलद्वारका रोगहरु, हर्निया, एपेन्डिक्सको शल्यक्रिया, आन्द्रासम्बन्धी समस्याहरुको शल्यक्रिया र उपचार, पित्तथैलीको शल्यक्रिया, मासु पलाएको, अण्डकोषको शल्यक्रिया, छाला टाल्ने लगायत स–साना शल्यक्रियाका सेवाहरु सञ्चालन गर्न सकिने अस्पतालका चिकित्सक डा. प्राञ्जलचन्द्र पौडेलले जानकारी दिनुभयो । निकट भविश्यमा इन्डोस्कोपी सेवा सञ्चालन गर्न सकिने उहाँको भनाई छ ।
यस्तै हाडजोर्नी तथा नसा रोगको सेवातर्फ हड्डी भाँचिएको, हड्डी टुटेको फुटेको, स्टिल राख्ने, झिक्ने सहित धेरै सेवाहरु प्रवाह गर्न सकिने हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. देउमान लिम्बूले वताउनुभयो । विशेषत पूर्वी पहाडमा हाडजोर्नीको समस्याका धेरै विरामी हुने भएपनि उपचारका लागि तराईका जिल्लामा पुग्नुपर्ने र ठूलो धनराशी खर्च हुने अवस्था अन्त्य गर्न रोक्ने आफूहरुको प्रयास हुने वताउनुभयो । “सकेसम्म जिल्ला अस्पतालमा देखाएर मात्रै अन्यत्र जान विरामीहरुलाई सुझाव दिन्छौं”, डा. लिम्बूले भन्नुभयो ।
पूर्वी पहाडका पाँचथर सहित ताप्लेजुङ र तेह्रथुमका विरामीले समेत सेवा लिने गरेको पाँचथर अस्पतालले १५ शैया सञ्चालनको अनुमति पाएपनि हाल ३५ शैयामा सेवा दिइरहेको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत दुई वर्षअघि नै यस अस्पताललाई १०० शैयामा विस्तार गर्ने घोषणा गरेको थियो भने गतवर्ष ५० शैया सञ्चालनमा ल्याउने घोषणा गरेको थियो ।
यद्यपी प्रदेशले गरेको घोषणा कार्यान्वयन भने हुन सकिरहेको छैन् । शैया विस्तारका लागि संगठन तथा ब्यवस्थापन सर्वेक्षण नै पूरा भइनसकेको ब्यवस्थापन समितिका अध्यक्ष आङ्देम्बेको भनाई छ । “बजेटसहित प्रदेश सरकारबाट योजना अघि बढाइए मात्रै शैया विस्तारको काम सम्पन्न हुन सक्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया