विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट कांग्रेसका विजयकुमार गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन् । चौधरी लामो समय सांसद् रहनु परेन, मंगलबारबाट मन्त्री समेत बनिन । नेकपा (एमाले)बाट उनी वर्तमान सरकारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा सरकारमा सामेल भएकी हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा चौधरीले ४० हजार ७८८ मत पाउँदा गच्छदारले ३५ हजार ६ सय मत पाएका थिए । सातौं पटक विजयी बन्ने लक्ष्य लिएका गच्छदारलाई उनै चौधरीले फराकिलो मतले पराजित गरेकी थिइन् ।
जननेता मदन भण्डारीको आदर्शबाट अभिप्रेरित भएर राजनीतिमा लागेको बताउने चौधरी एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज समेत हुन् । उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत बनेकी थिइन् ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा उनी विजयकुमार गच्छदारसँग पराजित भइन् । चौधरी पुनः नेकपा एमालेबाटै २०७४ सालको आम निर्वाचनमा सोही क्षेत्रमा उम्मेदवार बनिन् तर फेरि पनि गच्छदारसँग पराजित भइन् । त्यसबेला चौधरीले ३८ हजार ६५१ मत ल्याउँदा गच्छदारले त्यो भन्दा ३५७ मत बढी अर्थात् ३८ हजार ९७२ मत ल्याएका थिए ।
५१ वर्षीय चौधरी लामो समयदेखि सामाजिक र आर्थिक क्षेत्रमा सक्रिय छिन् । उनले लघुवित्त कार्यक्रम मार्फत महिलाको आर्थिक र सामाजिक जीवनस्तर उकास्न भन्दै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापना गरेकी छन् ।
समाजशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनी पिएचडी अध्ययनरत हुन् । सुनसरीको दुहबी–२ स्थायी ठेगाना भएकी चौधरीको जन्मस्थान भने साविक औराबनी गाविस (हाल गढी गाउँपालिका) हो । उनले २०४८ सालमा एमालेको पार्टी सदस्यता लिएकी हुन् ।
२०५८ सालदेखि सक्रिय राजनीतिमा लागेकी उनी २०६४ सालमा एमालेको सुनसरी जिल्ला कमिटी सदस्य बनिन् । ०७० सालमा कोशी अञ्चल समन्वय कमिटी सदस्य र २०७८ को चितवनमा सम्पन्न एमालेको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोजगार केन्द्रीय विभागको उपप्रमुख भइन । (रातोपाटीबाट)
प्रतिक्रिया