काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)का सांसद् देवराज घिमिरे निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।
“हाल बहाल रहेको २६८ मध्ये बहुमत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित हुनु भएको छ”, सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले घोषणा गरे। नवनिर्वाचित सभामुख यसअघि २०५६ सालमा राष्ट्रियसभाको सांसद भएका थिए। एमाले स्थायी कमिटीका सदस्यसमेत रहेका उनी झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
घिमिरेको पक्षमा एमालेका ७७, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्रब पार्टी (रास्वपा)का २०, राप्रपा १४, जनता समाजवादी पार्टी (जसपा) १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ तथा स्वतन्त्र सांसद् तीन जना छन्।
नेपाली कांग्रेसबाट सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेको पक्षमा नेपाली कांग्रेसका ८८, एकीकृत समाजवादी १० र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ सांसद उभिएका थिए।
प्रतिक्रिया