विराटनगर । झापा र मोरङका छुट्टाछुट्टै ३ स्थानबाट लागूऔषध ब्राउनसुगर र डाइलक्स डीसी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो ।
यसैगरी झापाकै दमक नगरपालिका–१ को कुमाल चोकमा रहेको एक होटलमा लागूऔषधको बिक्री बितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ४ जनालाई लागूऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा इलाम चुलाचुलीका ३२ बर्षीय बीरबहादुर लिम्बू, दमक–३ की २४ बर्षीया प्रेमकुमारी तामाङ र १९ बर्षीया दिक्षा योगी तथा इलामको फाकफोकथुम गाउँपालिका–३ घर भई दमक–९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम ब्राउसुगर र ४ थान मोवाइल बरामद गरेको छ ।
यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ बाट धरान–१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका–७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागूऔषध डाइलक्स डीसी सहित शनिवार साँझ पक्राउ गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका उनीहरुका सम्बन्धमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया