काठमाडौं । नेकपा (एमाले)ले रिक्त रहेको प्रदेश नं. १ को इन्चार्जमा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको छ ।
एमालेको आज सम्पन्न सचिवालय बैठकले गौतमलाई इन्चार्ज बनाएको हो । एमाले प्रदेश १ इन्चार्ज झापाका देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख बनेपछि पार्टीका सबै जिम्मेवारी त्यागेका थिए । यसपछि रिक्त बनेको इन्चार्ज पदमा गौतम चयन भएका हुन् । संखुवासभाका गौतम निवर्तमान प्रतिनिधि सभा सदस्य समेत हुन् ।
एमालेले धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी शिला यादवलाई दिएको छ भने अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी विन्दा पाण्डेलाई दिएको छ। यसअघि सो विभागको प्रमुखमा घनश्याम भुसाल थिए ।
बिहीबार बसेको सचिवालय बैठकले अपांगता क्षेत्र हेर्ने जिम्मेवारी पार्वत गुरूङलाई दिने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए। सञ्चारकर्मीहरूको जिज्ञासको जवाफ दिँदै उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोसिस जारी रहेको पनि बताए।
प्रतिक्रिया