पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेसँग तालमेल नगरेको भए जसपा राष्ट्रिय पार्टी बन्ने थिएनँ : उपेन्द्र यादव

चिन्तन खबर

भैरहवा । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले गत निर्वाचनमा नेकपा (एमाले)सँग तालमेल नगरेको भए आफ्नो दल जसपा राष्ट्रिय पार्टी बन्न नसक्ने वताएका छन् ।

जसपाले भैरहवामा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै यादवले तालमेलमा कहीं फाइदा र कहीं नोक्सान हुनु स्वभाविक भएको वताउका हुन् । “५ दलीय गठबन्धनबाट निर्वाचनमा ९ सीटमा जसपा निर्वाचन लडेको भए राष्ट्रिय पार्टी बन्ने थिएन । न हाम्रो नेतृत्वमा प्रदेश सरकार बन्थ्यो न अहिलेजस्तो भूमिका रहन्थ्यो”, यादवले भने, “एमालेसँग तालमेल गर्ने निर्णय सहि थियो ।”

यादवले परिस्थितिअनुसार गठबन्धन र तालमेल फेरबदल हुनसक्ने बताए । तर निर्वाचनमा नेकपा (एमाले)सँग गठबन्धन नभइ केही सीटमा तालमेल मात्र भएको उनले बताएका छन् । पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा ९ र प्रदेशसभा सदस्यमा २१ सिट दिने भनिएपछि गठबन्धनबाट जसपा बाहिरिएको यादवले स्पष्ट पारे ।

यादवले विगतमा समेत जसपा केपी ओली नेतृत्वको सरकारमा जसपा सहभागी स्मरण गर्दै संसद् विघटनपछि जसपा नयाँ गठबन्धन निर्माणमा लागेको वताए । अध्यक्ष यादवले कांग्रेस, एमाले र माओवादी केन्द्र एक्लै निर्वाचन लड्नसक्ने अवस्थामा नरहेको वताएका ।

उनले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका स्थानमा सफलता प्राप्त नभएको स्पष्ट भएकाले कांग्रेससँग एलायन्स गर्दा पार्टीलाई फाइदा नहुने कुरा नेता कार्यकर्ताले बुझ्नुपर्ने वताए । काँग्रेस र माओवादीको साथ पाएपनि नेकपा (एकीकृत समाजवादी) र लोसपा राष्ट्रिय पार्टी बन्न नसकेको दृष्टान्त यादवले प्रस्तुत गरेका थिए ।

अध्यक्ष यादवले लुम्बिनी प्रदेशमा केही समयपछि जसपा सरकारमा सहभागी हुने जानकारी दिए । केन्द्र सरकारका लागि भने नागरिकतासम्बन्धी समस्या समाधान, सत्ता साझेदारीमा समानजनक सहभागिता हुनुपर्ने जसपाको माग रहेको बताए ।

पार्टीभित्र आपसी एकता र समझदारी आवश्यक भएको उनको भनाइ छ । यादवले पार्टीलाई कमजोर बनाउने, अन्तरघात गर्ने र पार्टीका उम्मेदवारलाई हराउन लाग्नेलाई पार्टीमा राख्न नहुने तर्क गरे । उनले संगठन बिना शक्ति निर्माण हुन नसक्ने जिकिर गरे ।