फिदिम । कोशी प्रदेशका चार जिल्लालाई जोड्ने बहुप्रतिक्षीत भेडेटार–रबि–राँके सडकको सरोकारवालाले संयुक्त अनुगमन गरी आउँदो वर्षायाममा सवारी सञ्चालनलाई सहज बनाउने लक्ष्यसहित निर्माण कार्यलाई तीब्र बनाउन सुझाव दिएका छन् ।
धनकुटा, मोरङ, इलाम र पाँचथरलाई जोड्ने यो सडक निर्माण कार्यको भौतिक प्रगति पाँच वर्ष वितिसक्दा करीब ४३ प्रतिशत मात्रै भएपछि यस क्षेत्रका जनप्रतिनिधिहरुले सडक निर्माणको स्थलगत निरीक्षण गरी निर्माण कार्यलाई द्रूत बनाउन आग्रह गरेका हुन् ।
१००.३६७ किलोमिटर लामो यस सडकको धनकुटा खण्डमा सडकको ट्र्याक विस्तार, पर्खाल, नाली लगायत संरचना निर्माणजस्ता कार्य तिब्र गतिमा अघि बढेको भएपनि इलाम–पाँचथर खण्डमा उल्लेख्य काम हुन सकेको छैन् ।
विशेषतः वर्षायाममा यस सडक क्षेत्रका नागरिकले सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न जनप्रतिनिधिहरुले तालुकदार निकाय र निर्माण कम्पनीलाई सचेत गराएका हुन् ।
पाँचथरका प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्बाङ, धनकुटाका प्रदेश सभा सदस्य नीरन राई, संविधानसभाका सदस्यद्वय अइन्द्रसुन्दर नेम्बाङ र टीकाराम चेम्जोङ सहित सडक क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिहरु, भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख डिभिजन इन्जिनियर दीपेश रजक, सडक निर्माण गरिरहेको भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रा.लि.का प्रतिनिधि अभयकुमार मिश्रलगायत सो अनुगमनमा सहभागी हुनुहुन्थ्यो ।
अनुगमनका क्रममा बजार क्षेत्रमा रहेका मुआब्जा वितरण, घर टहरा सहितका संरचना विस्थापन, सडक निर्माणका क्रममा क्षति पुग्ने संरचनाको पुनर्निर्माण लगायतका विषयमा जनप्रतिनिधि, निर्माण ब्यवसायी र स्थानीयवासीवीच अन्तरक्रिया समेत सम्पन्न भएको छ ।
गत बुधबारदेखि शनिवारसम्म चलेको अनुगमन, छलफल तथा अन्तरक्रिया इलाम–पाँचथर सीमाका राँके, घुर्बिसेपञ्चमी र चिसापानी पञ्चमी बजार, पाँचथरका रबि र कन्याटार बजार, पाँचथर–धनकुटा सीमाको ६ नम्बर बुधबारे बजार, धनकुटाका साम्मेवा, राजारानी, ओख्रे, डाँडागाउँ, नाम्जे र भेडेटार बजारमा चलेको थियो । यस क्रममा स्थानीयवासीले निर्माण कार्यलाई तीब्र बनाइनुपर्नेमा जोड दिएका थिए ।
अनुगमनका क्रममा धनकुटाको भेडेटारदेखि पाँचथरको लेखगाउँसम्म सडक निर्माण कार्य तीब्र गतिमा अघि बढेको पाइएको प्रतिनिधि सभा सदस्य नेम्बाङले जानकारी दिनुभयो । तर इलाम–पाँचथर खण्डको लेखगाउँ–घुर्बिसेपञ्चमी खण्डमा कुनै काम नभएको पाइएकाले यी स्थानमा समेत निर्माण कार्य अघि बढाउन आग्रह र निर्देशन गरिएको उहाँले वताउनुभयो ।
“पाँच वर्ष वितिसक्दा समेत निर्माण कार्यमा अपेक्षित प्रगति नभएपछि जनतामा सडक बन्छ भन्ने विश्वास छैन् । धनकुटातर्फबाट निर्माण कार्यले गति लिएकाले इलाम–पाँचथर खण्डमा समेत काम तीब्र बनाउन आग्रह गरेका छौं”, नेम्बाङले भन्नुभयो ।
यो सडक निर्माणले गति नलिँदा वर्षायाममा विरामीलाई उपचार लैजान तथा खाद्यान्नको ढुवानी गर्न समेत समस्या पर्ने गरेकाले सबै क्षेत्रका काम अघि बढाउन आग्रह गरिएको प्रतिनिधि सभा सदस्य नेम्बाङले वताउनु भयो । “अहिले सडक निर्माणमा ३५ वटा स्काभेटर, झण्डै ३५० जना जनशक्ति खटिएको पायौं । उपकरण र जनशक्ति एकैसाथ बढाउन पनि आग्रह गरेका छौं”, उहाँले भन्नुभयो ।
अनुगमनका क्रममा पाँचथरका फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुरसिं नेम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष सन्तकुमार शेर्मा, माङ्सेबुङ गाउँपालिका इलामका अध्यक्ष हेमन्त राई, चौबिसे गाउँपालिका धनकुटाका अध्यक्ष राजकुमार लिम्बू, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र राई लगायत सहभागी हुनुहुन्थ्यो ।
भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख डिभिजन इन्जिनियर दीपेश रजकका अनुसार पछिल्लो १० महिनामा निर्माण कार्यमा २७ प्रतिशत प्रगति भएको छ । सोअघि करीब ४ वर्षमा १६ प्रतिशत मात्रै भौतिक प्रगति भएको थियो । हाल १००.३६७ किलोमिटरमध्ये सडकको ७५ किलोमिटरमा कार्य सञ्चालनमा रहेको र भेडेटारदेखि लेखगाउँसम्म वर्षायाममा पनि समस्या नपर्ने गरी सडक स्तरोन्नति भइसकेको रजकले जानकारी दिनुभयो । यो आयोजना भारतीय एक्जिम बैङ्कको सहुलीयतपूर्ण ऋण सहयोगमा भारतीय निर्माण कम्पनीबाट निर्माण भइरहेको छ ।
यो सडक धनकुटामा ४५.३९ किमी, पाँचथरमा ३०.१८ किमी, इलाममा २२.१९ र इलाम–पाँचथर सीमामा २.०६ पर्छ । २०७५ पुस ३ गते निर्माण सम्झौता भएकामा हालसम्म निर्माण कार्य आधा पनि पूरा हुन नसकेको हो । आयोजनाको संशोधित सम्पन्न गर्नुपर्ने मिति २०८१ साल भदौ १२ रहेको रजकले जानकारी दिनुभयो ।
कूल रु. ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ को लागतमा १००.३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौता भएको छ । अनुगमनपश्चात निर्माण कम्पनीले जनशक्ति र उपकरण थप गर्ने तथा इलाम–पाँचथर खण्डमा समेत निर्माण कार्य थाल्ने प्रतिवद्धता जनाएको रजकले वताउनुभयो ।
प्रतिक्रिया